कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्सिजनको अभाव

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले कोभिड–१९ का बिरामी सहित अन्य बिरामीका उपचार नियमित रुपमा भइरहेको बताए ।
पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको संक्रमणले अक्सिजन लिने वृद्धि हुँदा समस्या भइरहेका अवस्थामा पनि अन्य जटिल खालका बिरामीको पनि नियमित उपचार भइरहेको उनले जानकारी दिए ।
“हामीलाई दैनिक ३ सय अक्सिजन सिलिण्डरको आवश्यकता पर्छ । सुरुका दिनमा २ सय सिलिण्डर थियो,” उनले भने, “पछिल्लो समयमा अक्सिजनको हाहाकार बन्दै गयो ।”
नेपालगञ्जबाट भरेर ल्याएका सिलिण्डर त्यहाँका बिरामीका आफन्तले खोस्दा अक्सिजन अभाव बढेको र श्वासप्रश्वासका बिरामी थपिँदै उपचारमा आइलागेको समस्याले निकै सोच मग्न बनाएको उनले बताए ।
अक्सिजन नै सकिएपछि श्वास प्रश्वासका बिरामीहरुको मृत्युको कारुणिक दृश्य र आफन्तहरुको पीडा देख्न नपरोस् भनेर अस्पताल सेवादिन सक्ने अवस्थामा नरहेको भन्ने सूचना गर्नुुपरेको उनको भनाइ छ ।
उनले भने, “बिरामीको हित र सरकार सहित अन्य सरोकारवाला निकायलाई पनि झक झक्याउन सूचना गरेको हुँ । यसले नागरिकमा केही असर पारेपनि सरोकारवालाको गम्भीर ध्यानाकर्षणले अक्सिजनको जोहो भएर कोभिड बिरामीको उपचारमा सहयोग पुगेको छ ।”
प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पतालाई कोभिड विशेष अस्पताल भनिएपनि प्रतिष्ठान टाढा रहेको, चौरजहारीमा जनशक्ति र क्षमता कम भएकोले सुर्खेत मै बिरामीको चाप बढेको उनको भनाइ थियो ।
प्रदेश अस्पताल बाल रोग विभागका प्रमुख डा.नवराज केसीले गम्भीर खालका बिरामीमात्र आओस् भन्ने आशयले अस्पताल प्रशासनले सूचना गरेको बताए ।
कोरोनाबाट बालबालिकाहरुमा सामान्यप्रभाव देखिएपनि ठूलो असर नपरेको उनले बताए । गाउँमा स्वास्थ्यकर्मी, स्वयंसेवकआमा समूह र अन्य सरोकारवालाहरुले पनि यो अभियानमा खट्न सके ८० प्रतिशत बिरामी घट्ने उनको भनाइ थियो ।
प्रदेश अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा.के.एन पौडेलले अवधिमा धुम्रपान तथा मध्यपान गर्ने युवाहरुको मृत्युदर बढेको जानकारी दिए ।
संक्रमणको बीचमा पनि कोरोनाका बिरामीहरुकै सि.एस. एपेन्डिसाइटिस्लगायतको शल्यक्रिया गरिएको उनले बताए । उनका अनुसार केहीदिनमा संक्रमितका बिरामी घट्दै जानेछन् ।
प्रदेश अस्पतालका अनुसार कोरानाको बिरामीलाई ‘हाइ फ्लो’को अक्सिजन चाहिने भएकोले कन्सेटे«टर र अक्सिजन पाइप लाईनबाट करिब ७० भन्दा बढी बिरामीलाई अक्सिजनदिइएको छ ।
अक्सिजन प्लान्टले सोचे अनुसारको अक्सिजन प्रवाह नसकेकोले त्यसको क्षमता बढाउनेतर्फ प्रयास थालिएको छ । कोभिड–१९ व्यवस्थापनका लागि कर्णाली प्रदेश सरकारले २५ करोड सहयोग गरेको अस्पताल प्रशासनले जनाएको छ ।