संविधानको धारा अनुसार बाटो खोलिदिएको हो, सरकार कब्जा गर्न खोजिएको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जोगाउन र कब्जा गर्न नखोेजेको जिकिर गरेका छन् ।
ओलीले शुक्रबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा संविधानको धारा ७६(५) अनुसार बाटो खोलिदिएको तर सरकार कब्जा गर्न नखोजिएको बताए ।
प्रधानमन्त्री नियुक्तिका लागि संसदबाट विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न २१ घन्टा समय दिने राष्ट्रपतिको निर्णयको पनि बचाउ गरेका छन् ।
आढाइ महिनमा अविश्वासको प्रस्ताव नआएको तथा ३ दिन समय दिँदा पनि सरकार नबनेको भन्दै उनले भने,“अब अढाइ महिना नै दिने कि कति दिने ?”
प्रधानमन्त्री ओलीले आफूले फेरि प्रधानमन्त्रीमा दाबी गर्न सक्ने बताएका छन्। उनले आफूसँग १२१ मत रहेको र प्रधानमन्त्रीका लागि आधार प्रस्तुत गर्न खोजिरहेको बताए।
राष्ट्रिय सभा निर्वाचनमा विपक्षीसँग साँठगाँठ गरेर आफ्नै दलका उम्मेदवारलाई हराउन खेलेको भूमिकाको पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग हिसाबकिताब लिने बताएका छन्।
पार्टीभित्र अनुशासनहीनता बढेको भन्दै उनले पार्टी नीतिविपरीत काम गर्नेमाथि कारबाही हुने बताएका छन्।
‘कर्णालीमा फ्लोर क्रस गर्यो। बादललाई विपक्षीसँग साँठगाँठ गरी हराइयो। अनैतिक काम गरियो। हराउन नेतृत्व उनीहरुले नै गरे। समानान्तर कमिटी बनाएर पार्टी ध्वस्त बनाउन लागियो। संगठित तरिकाले संसद्मा अनुपस्थित बने,’ उनले भने, ‘पार्टी अनुशासनहीनतामा चल्दैन। फोहोरी खेल मैदानजस्तो भएको छ। यसको हिसाबकिताब लिन्छाैं।’
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी गर्न गरेको आह्वान आज साँझ ५ बजे सकिँदैछ।