सभामुख सापकोटाको पहलमा चौतारा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुँदै

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाका विशेष पहलमा जिल्ला अस्पताल चौतारामा अक्सिजन प्लान्ट स्थापना हुने भएको छ।
जिल्लामा कोभिड संक्रमितको संख्या बढ्दै जाँदा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले तत्काल दुई हजार एन्टिजेन किट र बिरामीका लागि अक्सिजन उपलब्ध गराउन माग गरे अनुसार स्वास्थ्य तथा जनसङ्ख्या र अर्थ मन्त्रालयसँगका समन्वयमा सभामुखले अक्सिजन प्लान्ट स्थापनाका लागि विशेष पहल गरेका हुन्।
जिल्ला अस्पताल र अरु स्वास्थ्य संस्थामा अक्सिजनको चरम अभावपछि अस्पतालले तत्काल अक्सिजन प्लान्टको स्थापनाको आवश्यकता भएकाले स्वास्थ्य सेवा विभागसँग माग गर्दै पत्राचार गरेको थियो।
दुवै मन्त्रालयमा पत्राचार एवं समन्वय गरी प्लान्ट स्थापनाको काम अघि बढेकोले अबको केही सातामै अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यले मूर्त रुप लिने सभामुखको सचिवालयले जनाएको छ।