प्रचण्डले भने, कन्फ्युजनमा नपर्नुहोला, भोलि ‘फर्स्ट आवर’मा रिट दर्ता हुन्छ

काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध रिट भोलि १० बजे सर्वोच्च अदालतमा दर्ता गरिने बताएका छन्।
उनले रिट दर्ता गर्न १४९ भन्दा बढी सांसदको हस्ताक्षर संकलन भएको बताए। उनले १४९ बाट घटेका कारण आज दर्ता गर्न नसकिएको भन्ने नबुझ्न आग्रह गरे।
‘१४९ मा अरु थपिनुभएको छ, घट्नुभएको छैन। कन्फ्युजनमा नपर्नुहोला,’ प्रचण्डले भने, ‘डकुमेन्ट तयार गर्दागर्दै आज दर्ता हुने समय सकियो। साँझसम्म सबै तयार हुन्छ। भोलि फर्स्ट आवरमा रिट दर्ता हुन्छ।’
संसद् विघटनविरुद्ध विपक्षी दलहरुले आज सर्वोच्चमा रिट दायर गर्ने तयारी गरेको थियो। तर, ३ बजेसम्ममा रिट दर्ता गर्नुपर्नेमा त्यो समयभित्र तयारी नसकिएकाले आज दर्ता नगरिएको बताइएको छ।
रिट दायर गर्नका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह तथा राष्ट्रिय जनमोर्चाका सांसदहरुको हस्ताक्षर संकलन गरिएको छ। सांसदहरुलाई हस्ताक्षरका लागि अदालती ‘फर्म्याट’ उपलब्ध गराइएको थियो।
शुक्रबार १४९ सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी गरेका थिए। प्रधानमन्त्री केपी ओली पक्षबाट अर्को दाबी पनि आएकाले दुवैलाई राष्ट्रपतिले अस्वीकृत गर्दै निर्वाचनको मिति घोषणा गरेकी थिइन्।
शनिबार पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रतितिनिधि सभा विघटन असंवैधानिक भएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध १४९ जना सांसदलाई लिएर सर्वोच्च अदालत जाने निर्णय गरेको थियो।