प्रतिनिधिसभा विघटनविरुद्ध तल्लो तहसम्मै सहकार्य गरेर अघि बढ्ने विपक्षी गठबन्धनबीच सहमति

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विपक्षी गठबन्धन केन्द्रमा जस्तै मातहतका सबै कमिटीमा एकजुट भएर लागिपर्ने भएका छन् ।
आइतबार बानेश्वरमा भएको विपक्षी गठबन्धनका शीर्ष नेताहरुबीच बैठकमा ओलीको कदमविरुद्ध तल्लो तहसम्मै सहकार्य गरेर लागिपर्ने निर्णय भएको काँग्रेस नेता अतहर कमाल मुसलमानले बताए ।
‘केन्द्रमा ५ वटा शक्तिबीच जसरी मोर्चाबन्दी भएको छ , त्यसैगरी मातहतका कमिटीमा पनि यी ५ वटै शक्तिबीच मोर्चाबन्दी गरेर सरकारका विरुद्ध राजनीति र न्यायिक लडाइ लड्ने सहमति भएको छ’, थापाले भने, ‘सम्बन्धित पार्टीले आफ्ना मातहतका कमिटीलाई निर्देशन दिने शीर्ष नेताहरुबीच सहमति भएको छ ।’
बैठकमा गरिएको निर्णय अनुसार आज पाँच वटै दलका नेताहरुले आआफ्नो पार्टी कमिटीलाई निर्देशन गर्ने मुसलमानले बताए । बैठकमा काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव समूह, एमालेको माधव कुमार नेपाल समूह र जनमोर्चाका नेताहरुको सहभागिता रहेको थियो ।
जेठ ७ मा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेर विपक्षी गठबन्धनले राष्ट्रपतिसमक्ष १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेको थियो । तर सो हस्ताक्षरलाई राष्ट्रपतिले वैधता दिएकी थिइनन् ।