स्थगित स्नातक तहको परीक्षा साउन महिनाभित्रै लिने त्रिविको तयारी, विद्यार्थी भने अन्योलमा

निरोज तोलाङे, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले कोरोना (कोभिड–१९)का कारण स्थगित स्नातक तहका परीक्षा आगामी साउन महिनाभित्र सञ्चालन गर्ने भएको छ ।

लामो समयदेखि रोकिएको र विद्यार्थी १९ महिनाभन्दा बढी एउटै वर्षमा अध्ययन गर्न बाध्य भएकाले स्नातक तह प्रथम वर्षको परीक्षा साउनभित्रै लिने गरी विश्वविद्यालयले आन्तरिक तयारी थालेको हो ।

परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ ।

हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक तह प्रथम वर्षमा दुईवटा समूह अध्ययनरत छन् । पुरानो प्रथम वर्षका विद्यार्थीले प्रथम वर्षमा अध्ययन गर्न सुरु गरेको १९ महिनाभन्दा बढी भइसकेको छ तर परीक्षा हुन सकेको छैन ।

यस पटक स्नातक तहमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी सहभागी हुने अनुमान छ । मौका परीक्षाको अवसरसमेत भएकाले गत वर्षको तुलनामा विद्यार्थी बढ्ने त्रिविको अनुमान छ । गत वर्ष स्नातक तह पहिलो वर्षमा दुई लाख ३० हजार विद्यार्थी परीक्षामा सहभागी थिए । विद्यार्थीको परीक्षा फाराम सङ्कलन भएपछि मात्रै विद्यार्थीको अन्तिम टुङ्गो लाग्ने जनाइएको छ ।

परीक्षा मोडेलको निर्णय छिट्टै परीक्षाको मोडेलका बारेमा अर्को सातासम्म विश्वविद्यालयले निर्णय गर्ने भएको छ । वार्षिक परीक्षा प्रणालीका विद्यार्थी भएका कारण अनलाइन माध्यमबाट परीक्षा लिने कुरा भने सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले स्पष्ट गरे ।

विश्वविद्यालयले कोरोना सङ्क्रमण बढेपछि सेमेस्टर प्रणाली अध्ययन गर्ने सबै विद्यार्थीको परीक्षा भने अनलाइन माध्यमबाट लिन थालेको छ । सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको पहुँच अनलाइन माध्यममा पनि भएका कारण अनलाइनबाट परीक्षा लिन सकिएको जनाइएको छ ।

विद्यार्थी गाउँमा भएका कारण परीक्षा फाराम भर्न समस्या भएको क्याम्पस प्रमुखहरूले गुनासो गरेका बेला अनलाइनबाट परीक्षा सम्भव नहुने उनको भनाइ छ । यसको विकल्पमा विद्यार्थीलाई आफू अध्ययनरत क्याम्पस या आफ्नो नजिकको पायक पर्ने क्याम्पसबाट परीक्षा लिने विकल्पका बारेमा आफूहरूले सोचेको जानकारी विश्वविद्यालयका अधिकारीले दिएका छन् । यसको छिनोफानो छिट्टै गरिने जनाइएको छ ।

यता विद्यार्थीहरु भने उपत्यकाको अधिकाशं क्याम्पसले आफना विद्यार्थीहरुलाई परीक्षा फारम भर्न आधिकारिक सूचना नदिई वेवास्ता गरेको कारण र त्रि.वि.को अनलाइन फारम कसरी भर्ने भन्ने जानकारी नदिएका कारण आफुहरु अहिले अन्यौलमा परेको गुनासो गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button