बाँकेमा कोभिड खाद्य बैंक सञ्चालन

किशोर शाही बाँके । लकडाउनका कारण खाद्यान्न संकट भोगेका अति विपन्न परिवारलाई राहत दिन बाँकेको कोहलपुरमा ‘कोभिड खाद्य बैंक’ स्थापना गरिएको छ ।
उद्योगी, व्यवसायी, नगरवासी र सहयोगी जोकसैले स्वेच्छिकरूपमा खाद्य सामग्री जम्मा गर्न सक्ने गरी कोभिड खाद्य बैंकको अवधारणा ल्याइएको हो ।
सोमबार एक कार्यक्रमका बिच नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र बहादुर अधिकारीले उक्त बैंकको उद्घाटन गरेका हुन । त्यसक्रममा अधिकारीले कोरोनाबाट दिवंगत आफ्ना भाईको स्मृतीमा २२ हजार मुल्य बराबरको खाद्यान्न सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कोरोना महामारीको कारण गरिएको लकडाउनबाट प्रभावित कोही पनि परिवार भोकले मर्न नपरोस भन्ने प्रमुख लक्ष्यका साथ गाउँदेखि शहरसम्मका गरिब तथा अति विपन्न परिवारका लागि खाद्यन्न सहयोग गर्ने र राहत कोषमा सहयोग गर्न चाहने कुनै व्यक्तिसँग नगद रकम नहुने तर खाद्यवस्तु हुन सक्ने भएकाले उनीहरुको सहयोगलाई एकीकृत गर्न कोभिड खाद्य बैंकको अवधारणा ल्याइएको कोभिड खाद्य बैकका संयोजक प्रदिप भट्टराईले बताए ।
कोभिड खाद्य बैंकका अभियन्ता चेतकान्त भट्टराईका अनुसार खाद्य बैंक स्थापनामा कोहलपुर वडा नं. १० का वडाध्यक्ष निम बहादुर चलाउनेले पच्चिस हजार, स्थानिय नेता मोहन चापागाँईले पच्चिस हजार पाँच सय एकाउन्न, स्थानिय यातायात ब्यवसायी गोकर्ण वलीले पन्ध्र हजार, केशव खनालले दश हजार तथा अन्य ब्यक्तिहरुले समेत आर्थिक सहयोग उपलब्ध गराएको जानकारी दिए ।
न्यून आय भएका परिवार तथा सबै प्रकारका मजदूरलाई प्राथमिकतामा राखी राहत दिन खाद्य बैंक स्थापनाले टेवा पुग्ने कोहलपुरबासीको विश्वास छ ।