चितवनको बीपी कोइराला क्यान्सर अस्पतालका ५ जना नर्समा कोरोना संक्रमण

भरतपुर । चितवनको भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पतालका ५ जना नर्सहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणका क्रममा ५ जना नर्सहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण देखिएका नर्सहरु आकस्मिक कक्ष र मेडिकल अंकोलोजीमा कार्यरत रहेका अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले जानकारी दिए ।

संक्रमण देखिएका नर्सहरु भरतपुरकै स्थायी बासिन्दा भएका जनाइएको छ । लक्षण नदेखिएकाले अहिले उनीहरु घरमै ‘होम आइसोलेशन’मा छन् ।

लक्षण देखिएको अवस्थामा मात्रै उनीहरुलाई कोभिड अस्पतालको आइसोलेशनमा लगिने डा गौतमको भनाइ छ ।

यसअघि क्यान्सर अस्पतालकै ५ जना कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

यस्तै, कोभिडका बिरामीहरुको उपचारका लागि ‘हब अस्पताल’को रुपमा तोकिएको भरतपुर अस्पतालका थप ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित ४ जना चिकित्सक र १ जना स्वास्थ्यकर्मी गरी ६ जनामा संक्रमण पुष्टि भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button