स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहार घटनामा संलग्नलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिएका छन् ।
कोरोना संक्रमितको निधन भएको विषयलाई लिएर चिकित्सक, नर्स लगायतमाथि भएको दुव्र्यवहारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै पोखरेलले घटनाको गम्भीरतापूर्वक छानविन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन् ।
उपप्रधानमन्त्री पोखरलेले महामारीका बेला जनताको जीवन रक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण गम्भीर अपराध र अमानवीय भएको बताएका छन् ।
बाँकेका सिडयो शिवराम गेलाललाई टेलिफोन गरी अस्पतालमा स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिए । घटनाको सम्बन्धमा छानबिन गर्न सहायक सिडियोको नेतृत्वमा समिति गठन भएको छ भने ३ जना पक्राउ परिसकेका छन् ।