पूर्वराज्य मन्त्री भण्डारीको पहलमा बैतडीको प्रत्येक पालिकामा अक्सिजन सिलिण्डर वितरण

बलदेव सिंह नायक, बैतडी । बैतडीका स्थानीय तहहरुलाई अक्सिजन सिलिण्डर वितरण गरिएको छ ।
पूर्व अर्थराज्यमन्त्री एवं विघटित प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीको पहलमा प्रत्येक पालिकालाई ५ ओटाका दरले अक्सिजन सिलिण्डर वितरण गरिएको भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिए ।
विघटित प्रतिनिधि सभा सदस्य भण्डारीले विभिन्न ठाउँबाट सहयोग संकलन गरेर जिल्लाका लागि अक्सिजन सिलिण्डर पठाएको उनले बताए ।
जिल्लाका १० ओटै स्थानीय तहमा अक्सिजन सिलिण्डर वितरणको काम भईरहेको छ । अहिले सम्म पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा सिलिण्डर वितरण भईसकेका छन् ।
अन्य पालिकाहरुमा पनि अक्सिजन सिलिण्डर वितरणको काम भईरहेको स्वकीय सचिव भण्डारीले जानकारी दिए । यस्तै जिल्लाका लागि ५० हजार मास्क वितरण गरिएका उनले बताए । यस्तै २० ओटा आइसोलेसन बेड वितरण गरिने समेत बताइएको छ ।
कोरोना भाईरसको जोखिम न्यूनीकरणका लागि विभिन्न स्वास्थ्य सामग्री र उपकरण उपलब्ध गराईएको हो ।
भण्डारीले जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि संघिय सरकारबाट १ करोड ५० लाख बजेट बिनियोजन गराएका थिए।