प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दा हेर्दैमा

काठमाडौं- प्रतिनिधि सभा विघटन सम्बन्धमा सर्वाेच्च अदालतमा परेका मुद्दामाथि जारी संवैधानिक इजलासको सुनुवाइ आजका लागि सकिएको छ।
यसअघि शुक्रबार भएको सुनुवाइ आजका लागि ‘हेर्दाहेर्दैमा’ राखेको थियो। अब निरन्तर सुनुवाइ गर्ने नि के गर्ने भन्ने इजलासले निर्णय गर्न बाँकी छ।
आइतबार रिट निवेदकका तर्फबाट ८ र सरकारी पक्षबाट तीन जनाले बहस गरे। निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, महाविर यादव, हरिहर दाहाल, मुक्ति प्रधान, रमण श्रेष्ठ र अधिवक्ताहरू गोविन्द बन्दी र टीकाराम भट्टराईले बहस गरे।
यस्तै, सरकारी पक्षबाट महान्यायाधिवक्ता रमेश बडाल, नायव महान्यायाधिवक्ता पदम पाण्डे र सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे। आइतबारको बहस इजलास गठनमै केन्द्रित रह्यो।
रिट निवेदक तर्फका कानुन व्यवासायीहरूले संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट अलग हुनुपर्ने तर्क गरे। केसीले अघिल्लोपटकको विघटन मुद्दाको सुनुवाइमा पनि सहभागी भएको र श्रेष्ठले नेकपा नाम विवादमा एक कमद अघि बढेर फैसला गरेको भन्दै उनीहरू बस्न नपाउने कानुन व्यवसायीले तर्क गरे।
महान्यायाधिवक्ता बडाललगायत सरकारी पक्षले भने न्यायाधीशद्वय इजलासमा बस्न पाउने तर्क अघि सारे। नभए अन्य न्यायाधीशका विषयमा पनि आफूहरूले प्रश्न उठाउने बताए।