लुम्बिनीको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट

काठमाडौं– लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक हुने भएको छ।
कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको निर्वाचन अधिकृतले बताएका छन्।
निर्वाचनका लागि दाङको घोराहीमा तीन वटा मतदान स्थल तोकिएको छ। प्रदेशसभा सदस्यका लागि (क), गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि (ख) र कोभिड सङ्क्रमितका लागि (ग) मतदान केन्द्र तोकिएको हो।
उक्त निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे उम्मेदवार रहेका छन्।
उपनिर्वाचनमा प्रदेशसभा ८३ सदस्य र गाउँपलिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख २१७ गरी तीन सय मतदाता रहेका छन्।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा उपनिर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुने व्यवस्था छ ।