सुदूरपश्चिम एमालेका ६ मन्त्रीसहित ७ जनाले बुझाएनन् स्पष्टीकरण

बलदेव सिंह नायक, कैलाली । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारमा सहभागी भएका ६ जना मन्त्रीसहित ७ जनाले नेकपा (एमाले) प्रदेश कमिटी सदस्यले स्पष्टीकरण बुझाएका छैनन् ।
शनिबार सुदूरपश्चिम प्रदेश एमाले प्रदेश कमिटीले स्थायी कमिटीको निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै २४ घन्टे स्पष्टीकरण सोधेको थियो ।
सरकारमा सहभागी ३ मन्त्री, ३ राज्यमन्त्री र एक सचेतकलाई स्पष्टीकरण सोधेको हाे ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ बहादुर सोडारी, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र सामाजिक विकासमन्त्री लाल बहादुर खड्कालाई एमालेले स्पष्टीकरण सोधेको हो । यसैगरी, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराजलाई पनि स्पष्टीकरण सोधिएको छ ।
एमालेका सचेतक दुर्गा विकलाई पनि स्पष्टीकरण सोधिएकोमा कसैले पनि स्पष्टीकरण नबुझाएको एमाले प्रदेश सचिव राजेन्द्र रावलले बताए ।
एमाले सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले स्पष्टीकरण नबुझाउने ७ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही हुने बताए ।