नेकपाको आन्तरिक विवाद समाधानका लागि कार्यदल गठन गर्ने निर्णय अनुमोदन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले आन्तरिक विवाद समाधानका लागि दुई अध्यक्षद्वारा गठित कार्यदललाई अनुमोदन गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टीको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)को सहमतिमा गठित कार्यदललाई अनुमोदन गरेको हो ।

नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले सोमबार बसेको बैठकले विवाद समाधानका लागि कार्यदल गठन गर्नेसम्बन्धी दुई अध्यक्षको निर्णयलाई अनुमोदन गरेको हो ।

‘पार्टीको संकट निवारणका लागि २ अध्यक्षले कार्यदल बनाउनै नपाउने भन्ने होइन । उक्त कार्यदलले आफ्नो प्रतिवेदन पनि २ जना अध्यक्षलाई नै बुझाउने हो,’ सोमबार सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकले २ अध्यक्षको समझदारीका आधारमा गठन भएको कार्यदललाई अनुमोदन गर्ने निर्णय गरेको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार कार्यदलले आफ्नो प्रतिवेदन पनि अध्यक्षद्वयलाई नै बुझाउने छ । पछि अध्यक्षले नै कार्यदलबाट प्राप्त प्रतिवेदन सचिवालय वा स्थायी कमिटी बैठकमा प्रस्तुत गर्नेछन् ।

गत असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने आवाज उठेपछि नेकपामा आन्तरिक विवाद चर्किएको थियो ।

त्यसयता विभिन्न समयमा स्थगित भएर फेरि सुचारु हुँदै आएको स्थायी कमिटी बैठक भने अनश्चित बनेको छ ।

केही दिन अगाडि मात्रै पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि अध्ययन गर्न भन्दै अध्यक्ष ओली र प्रचण्डले ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।

महासचिव विष्णु पौडेलेको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल सदस्य छन् ।

वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र प्रवक्ता श्रेष्ठ लगायतका नेताहरुले कार्यदल गठनको निर्णय सचिवालयबाट अनुमोदन गराउनुपर्ने माग गरेपछि सोमबार बिहान सचिवालय बैठक बोलाइएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button