बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको सिल आजदेखि हटाइयो

बनेपा । बनेपा नगर क्षेत्रमा लगातार दुई हप्ता गरिएको सिल आजदेखि हटाइएको छ । नगरक्षेत्रमा संक्रमित सङ्ख्या घटिरहे पनि जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञा भने आउँदो २६ गतेसम्म जारी नै राखिएको छ ।

शिल अवधिभर बनेपाले मर्निङवाकसमेत गर्न दिएको थिएन । नगरद्वारा सोमबार जारी सूचनामा स्वास्थ्यका मापदण्ड अपाई अत्यावश्यक सेवामात्रै सञ्चालन गर्न पाइने तथा बिहान छदेखि १० बजेसम्म खाद्यान्न, ग्यास, तरकारी, फलफूल, खानेपानी तथा पशुको दाना बिक्री गर्ने पसल खोल्न पाइने भएको जनाइएको छ ।

बैंक–वित्तीय संस्था, विद्युत्, सञ्चार कार्यालय, फोहर व्यवस्थापनका कार्यालय खोल्न पाइए पनि निजी तथा सार्वजनिक सवारी, भीडभाड हुने जिमखाना, सिनेमा हल, विद्यालय, पार्टीप्यालेस, रेष्टुरेन्ट सञ्चालन गर्न पाइने छैन् ।

केही दिनदेखि सङ्क्रमणदर घटिरहेको बनेपा नगरका हाल २ सय ११ पुरुषसहित ३ सय ९४ सक्रिय सङ्क्रमित छन् । हालसम्म यहाका २२ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । बनेपा जिल्लाको प्रमुख शहर हो ।

अन्य चार स्थानीय तहमा भने शिल कायमै छ । पनौती नगर, भुम्लु गाउँपालिका र बेथानचोक गाउँपालिकाको शिल–अवधि पनि सोमबार सकिएको छ ।

नमोबुद्ध नगर र रोशी गोउँपालिका शिलको समयसीमा बुधबारसम्म छ । जेठ ७ गते पाँच दिन नगर क्षेत्र शिल गरेको धुलिखेलले एकैपटक पुनः १० दिन शिलको अवधि थपेको छ । पाँचखालले भने ८ गतेदेखि एकैपटक १५ दिन नगर शिल गरेको थियो ।

मण्डनदेउपुरले दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा संक्रमण, नियन्त्रण, न्यूनीकरण तथा संक्रमण शृङ्खला तोड्नुपर्ने जनाउँदै १२ गतेदेखि एकैपटक १० दिन नगरक्षेत्र शिल गरेको छ ।

शिल गरिएका सबै तहले आफ्नो क्षेत्रमा स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाहेक सबै पूर्णरूपमा बन्द गरेको जनाउँदै आएका छन् ।

सूचना विभागबाट जारी प्रेस पासबाहक सञ्चारकर्मीबाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइने स्थानीय तहद्वारा जारी सूचना एवं प्रेस विज्ञप्तिमा उल्लेख गरिएका छन् ।

जिल्ला प्रशासन कार्यालयले दोस्रोपटक थपेको निषेधाज्ञा २४ गतेसम्म छ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । केही गाउँपालिकाले पनि निषेधाज्ञामा थप कडाइ गरेको जनाउँदै आएका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३८५ कोरोनामुक्त भएका छन् भने संक्रमित २०६ मा सीमित रहे । अघिल्लो दिन १ सय ८६ भने जम्मा ५८ कोरोना सङ्क्रमित थपिएका थिए ।

यस्तै शनिबार १७६ कोरोनामुक्त भएका थिए भने ६४ नयाँ संक्रमित थपिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा छ सङ्क्रमितले ज्यान गुमाएका छन् ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २ सय २७ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सबैभन्दा बढी पाँचखाल नगरमा १९ प्रतिशत अर्थात् ४ सय ४ सङ्क्रमित छन् ।

कूल सङ्क्रमितमध्ये धुलिखेलमा २ सय ९९, पनौतीमा २ सय ७७, नमोबुद्धमा १ सय १९, मण्डनदेउपुरमा १ सय ३६ तथा रोशी गाउँपालिकामा १ सय २८, चौँरीदेउरालीमा ५७, तेमालमा ९४, भुम्लु १ सय ५२, खानीखोलामा २९, बेथानचोकमा १ सय ७ र महाभारत गाउँपालिकामा ३१ सक्रिय संक्रमित रहेको केन्द्रले जनायो ।

कूल संक्रमितमध्ये ९३ प्रतिशत अर्थात् दुई हजार ८४ सङ्क्रमित होमआइसोलेसनमा उपचाररत छन् । केन्द्रका अनुसार हालसम्म जिल्लाका १ सय ३३ कोरोना संक्रमितको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button