ओली र नेपाल पक्षको छुट्टा छुट्टै बैठक बस्दै

काठमाडौं । विवादको चरम उत्कर्षमा रहेको नेकपा एमालेको दुवै समूहले आज बैठक बोलाएको छ । अध्यक्ष ओली पक्षको स्थायी कमिटी र खनाल-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।
बुधबार स्थगित भएको ओली पक्षको बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ भने खनाल-नेपाल पक्षको बैठक भने अहिले ११ बजे बस्ने तय भएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली २०७५ को जेठ २ को अवस्थामा फर्कन तयार रहेको भन्दै तर त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै खनाल-नेपाल समूहका सांसदले दिएको समर्थन फिर्ता गर्नुपर्ने सर्त राखेका छन् ।
उता नेता माधव कुमार नेपालले पार्टी मिल्न सक्ने आधार अध्यक्ष ओलीले नै भत्काउँदै लगेको आरोप लगाउँदै प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्नुपर्ने सर्त राखेका छन् ।
बुधबार खनाल नेपाल पक्षको जनसंगठनहरूको बैठकमा धेरैजसो सहभागीहरुले केपी ओली सहमतिमा बस्न तयार नहुने हो भने धेरै अलमल गर्न हुँदैन भन्ने सुझाव दिएका थिए ।
वार्ता गर्ने भए समय तोकेर प्रयत्न गरिनुपर्ने, नत्र वार्ताको नाममा धेरै अलमल नगरी अलग पार्टी निर्माणमा लाग्न नेतृत्वलाई सुझाएका थिए ।