सिजी टेलिकमका विषयमा छानबिन हुन्छ : सञ्चारमन्त्री

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बस्कोटाले सिजी टेलिकमका विषयमा छानबिन हुने बताएका छन् ।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले लिमिटेड मोबिलिटी सर्भिसको ४४ करोड मात्रै तिरेको देखिएको उल्लेख गर्दै सरकारबाट अनुदान लिएर ४१ जिल्लामा सञ्चार सुविधा पुर्याए नपुर्याएको विषयमा छानबिन गर्ने बताएका हुन् ।
सरकारले तत्कालिन समयमा विपत्बाट हुने जोखिम वा अन्य कुनै आपतकालीन अवस्थामा सञ्चार सहज होस् भनेर विश्व बैंकसँग ऋण लिएको प्रसंग उल्लेख गर्दै पूर्वका ४१ जिल्लामा सञ्चार सुविधा पुर्याउन सिजी टेलिकम (तत्कालीन एसटीएम) लाई अनुदान दिएको र अहिलेसम्म कति काम भयो भन्ने विषयमा छानबिन हुने उनले बताए ।
“सरकारले आफू धितो बसेर विश्व बैंकबाट ल्याएको १ करोड १८ लाख ६५ हजार डलर अनुदानमा दिएको हो,” उनले भने, “सिजीका सञ्चालकहरू भाग्यमानी हो । किनभने अरूले कम्पनी खडा गर्न जोखिम मोल्नुपर्छ । चुनौती लिनुपर्छ । आर्थिक पनि जोखिम लिनुपर्छ अरु निर्माणको पनि जोखिम लिनुपर्छ । तर सरकारले ऋण काढीकाढी उहाँहरूलाई अनुदान दिएको हो । तर काम के गर्नुभयो ? भिस्याटका उपकरण कहाँ छन ? १०६८ वटा पिसिओहरू बने की बनेनन् । त्यो काम के भयो ? त्यो काम चाँही के हुनुपर्ने ? गर्छु भनेको काम नगरेपछि हिनामिना भयो की भएन राज्यको सम्पत्ति ? तोकिएको काम नगरेमा चाँही अनुदान के हुन्छ ? १ करोड १८ लाख ६५ हजार डलर के हुने ? अब यसमा अध्ययन चाँही त्यसमा हुने हो । कानूनी हिसाबले के हुने हो यसमा हुन्छ ।’’
बास्कोटाले सिजीसँग २० अर्ब माग्यो भनेर खवर आएको उल्लेख गर्दै आफ्नो घरमा राख्न पैसा नमागेको बताए । उनले भने, “मैले मेरो घरमा राख्न मागको होइन । कति साथीहरूले सञ्चारमन्त्रीले २० अर्ब माग्यो भन्नुभयो । मेरो घरमा त्यती पैसा राख्ने ठाउँ छैन । चाहिँदैन पनि ।”
बास्कोटाले जुहारी खेल्नुभन्दा पनि प्रक्रियामा आए काम हुने र आफुले कुनै आग्रह पूर्वाग्रह नराख्ने स्पष्ट पारे । “मैले उहाँहरूलाई धेरै केही भन्नु छैन । उहाँहरू प्रोेसेसमा आउनुहोस् प्रोसेस मिचेर आउने कुरामा हाम्रो साथ हुँदैन । कति तिर्नुपर्छ युनिफाइड वा अरुको त्यो मलाई धेरै थाहा हुँदैन । मैले सुनें कि त्यही हो । कुनै २५ लाखले लाइसेन्स पाइन्छ । कुनै १ लाखले पाइन्छ । कुनैको अरु कति तिर्नुपर्छ । कसैको रिन्युवल फि थोरै हुन्छ कसैको धेरै हुन्छ । २० अर्बसम्म हुन्छ ।”
बास्कोटाले सर्तअनुसार काम नगरी ढोका हुँदाहुँदै झ्यालबाट छिरेर अगाडी बढेपछि काम नहुने बताए । सबै क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरूका लागि सरकारले लगानी मैत्री वातावरण बनाउने नीति अवलम्बन गरेको उल्लेख गर्दै बास्कोटाले इमानदार लगानीकर्ताको आवश्यकता रहेको पनि बताए । उनले बार्सिलोनामा सीजी टेलिकम र टर्कसेलबीच सम्झौता हुँदा आफू साक्षी नबसेको र लाइसेनस दिन्छु भनेर पनि नभनेको बताए ।