जघन्य घटनाका अपराधीलाई कारबाही गर्न सरकारले सम्झौता गर्दैन : प्रधानमन्त्री ओली

नेपाल सरकारले सामाजिक बहिष्करण, छुवाछुत र यसका आधारमा हुने हिंसामा शून्य सहनशीलताको नीति अवलम्बन गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
छुवाछुटविरुद्धको राष्ट्रिय दिवसमा आज शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्,“यस्ता अमानवीय हिंसाका घटनाहरुको छानबिनमा दोषीलाई कारबाही गर्न राज्य किञ्चित पछि पर्ने छैन ।”
छुवाछुत सम्बन्धी जघन्य घटनाका अपराधीहरुलाई सरकारले कानुनी दायरामा ल्याउन प्रधानमन्त्री ओलीको भनाइ छ । “मानव सभ्याताको कलंक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधाहरुलाई सरकारले हटाउने छ ।
छुवाछुत सम्बन्धी जघन्य अपराधीहरुलाई सरकारले कानुनी दायरामा ल्याउनेछ/ल्याइरहेको छ । त्यस्ता अपराधीलाई कडाभन्दा कडा सजाय दिने कुरामा सरकारले कुनै सम्झौता गर्नेछैन,” प्रधानमन्त्री ओलीले भने,“ जातीय छुवाछुत विभेद वा छुवाछुतको पीडामा परेको निश्चित समुदायको मात्र नभइ हरेक व्यक्ति, परिवार, समाज र राष्ट्रको समस्या हो । त्यसैले जातीय छुवाछुतका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न म सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गर्दछु ।”

