ललितपुर महानगरले कोरोना संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख सहयोग गर्ने

काठमाडाैं- ललितपुर महानगरपालिकाले कोभिड-१९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ।
शुक्रबार कोभिड-१९ विषयक पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकामा स्थायी बसोबास गर्ने व्यक्तिहरु कोभिड-१९ संक्रमित भई उपचारको क्रममा निधन भएमा व्यक्तिको परिवारलाई महानगरपालिकाले प्रतिमृतक एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिए। त्यस्तै आईसीयू तथा भेन्टिलेटरमा उपचार गरेर निको भएकाहरुलाई जनही ५० हजार रुपैयाँ र अस्पताल भर्ना भएर कोभिड-१९ जितेकाहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने उनले बताए।
महानगरपालिकाबाट सहयोग लिनका लागि सिफारिसपत्रलगायत आवश्यक कागजपत्र आवश्यक पर्ने पनि जनाइएको छ। महानगरभित्रका प्रत्येक वडामा पीसीआर र एन्टिजेन परीक्षणको व्यवस्था गरिएको प्रमुख महर्जनले बताए। उनले महानगरपालिकाले अक्सिजनसहितको अत्याधुनिक आइसोलेसन सेन्टर सञ्चालन गरेको बताए।
वडा नं. २६ सुनाकोठीस्थित नेपाल युथ फाउण्डेसनको पोषण पुनर्स्थापना गृहमा एचडीयूसहितको ५० शय्याको आइसोलेसन सेन्टर र वडा नं. ४ स्थित बागडोलमा रहेको ज्यापु समाजको वृद्धाश्रम आनन्द निकेतन भवनमा १० शय्याको आइसोलेसन सेन्टर मनोसामाजिक परामर्श, पौष्टिक र सन्तुलित खानाको निःशुल्क व्यवस्थासहित सञ्चालन गरिएको उनले जानकारी दिए।