मन्त्रीबाट हटेकै दिन ज्ञवालीले सार्वजनिक गरे सम्पत्ति विवरण, आज नै सरकारी निवास छाड्ने

काठमाडाैं- परराष्ट्रमन्त्रीकाे जिम्मेवारीबाट हटाइएका प्रदीप ज्ञवालीले पुल्चोकस्थित सरकारी निवास आज बिहान छाड्ने तयारी गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एमालेकै रघुवीर महासेठलाई उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री जिम्मेवारी दिएपछि ज्ञवालीले सामाजिक सञ्जालमार्फत् पदमा रहँदा आर्जन गरेकाे सम्पत्ति विवरण सार्वजनिक गर्दै आज शनिवार बिहान रकारी निवास छाड्ने तयारी गरेका हुन्।
उनले मन्त्री पदमा रहँदा विदेश भ्रमण बापतको ३ लाख १४ हजार ९३० र पारिश्रमिक बापतकाे लेभी ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९३० बुझेकाे बताएका छन्।
यद्यपि, पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीबापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको पनि उनकाे भनाइ छ।
यस्तै, हाल खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको र केही घरायसी सामान एवं दुई सय जति पुस्तक थपिनुबाहेक मन्त्री बने लगत्तै सार्वजनिक सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको उनले दाबी गरेका छन्। आफूले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) शुक्रवार नै मन्त्रालयलाई फिर्ता गरेको उनले जानकारी दिएका छन्।
उनले जाँदाजाँदै प्रधानमन्त्रीलगायत मन्त्रालयका सचिवहरुलाई धन्यवादसमेत दिएका छन्। ‘यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु।
दायित्व सम्पादन गर्ने क्रममा प्राप्त सहयोग, प्रदर्शित टिम स्पिरिट एवं परिवार(सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (सम्प्रति मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।