प्रतिनिधि सभा विघटनको मुद्दामा आज संबैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं– प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै छ । यसअघि १४ जेठमा गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो ।
इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना छ । आइतबार प्रधान न्यायाधीशले संवैधानिक इजलास गठन गर्नेछन् ।
कानुन व्यवसायीहरुले वरिष्ठताको आधारमा इजलास गठन गर्न दवाब दिएका छन् । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य सहितका प्रतिनिधिसँग जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने आश्वासन दिएका थिए ।
शुक्रवार बसेको फुल कोर्टको बैठकमा पनि वरिष्ठताको आधारमा इजलास गठन गर्न बाधा नपर्ने निष्कर्ष निकालेर संवैधानिक इजलास कार्यसंचालन नियमावली शंसोधनका लागी सिफारिस नगर्ने निर्णय गरिएको थियो ।
नागरिकता अध्यादेशबारे सुनुवाई गर्न प्रधान न्यायाधीशले बरिष्ठ न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन गरेका छन् । अध्यादेशको मुद्दा सुनुवाइ गर्न जबराले संवैधानिक इजलासमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई राखेका छन् ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गरेका थिए।
बहसका क्रममा न्यायाधीशद्वय केसी र श्रेष्ठको यसअघिको नेकपा पार्टी एकता र दर्ताको पुनरावलोकनसम्बन्धी फैसलाबारे प्रश्न उठेएको थियो।
यही विषयमा विवाद लम्बिएर सुनुवाइ प्रभावित हुने भएपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने निर्णयसहित आइतबारका लागि पेशी तोकेका थिए।