संविधान संशोधन कार्यदल गठन गर्नु आपत्तिजनक र अलोकतान्त्रिक : माधव नेपाल पक्ष

काठमाडौं- संविधान संशोधनको गृहकार्य गर्नका लागि गठन गरिएको कार्यदलप्रति नेकपा एमालेको माधवकुमार नेपाल पक्षले विरोध जनाएको छ। सो पक्षमा रहेका स्थायी कमिटीका सदस्यहरुको बैठकले पारित गरेको प्रस्तावमा कार्यदल गठनको भर्त्सना गरिएको छ।

‘दुई–दुई पटक संविधान सभाको निर्वाचन गरी जारी भएको नेपालको संविधानमा काम चलाउ सरकारका प्रधानमन्त्रीले संशोधन गर्न कार्यदल गठन गरिएको भन्ने कुरा आपत्तिजनक र अलोकतान्त्रिक कार्य हो। यस्ता कार्यको हामी भर्त्सना गर्दछौं’, पारित प्रस्तावमा भनिएको छ।

संविधान संशोधनको गृहकार्य गर्नका लागि सरकारले एमालेको केपी शर्मा ओली पक्ष र जसपाको महन्थ ठाकुर पक्षका नेताहरु सम्मिलित पाँच सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलमा एमाले नेता तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र तत्कालीन सांसद कृष्णभक्त पोखरेल छन्। त्यस्तै, जसपाका तर्फबाट नेताद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।

त्यस्तै, एकपछि अर्को ‘असंवैधानिक र स्वेच्छाचारी कार्य गर्ने क्रममा’ कामचलाउ प्रधानमन्त्री रहेको अवस्थामा केपी ओलीले यही जेठ २१ गते मन्त्रिपरिषद्‌मा व्यापक हेरफेर गरेर संवैधानिक र लोकतान्त्रिक मूल्य, मान्यता र जनादेशमाथि घात गरेको नेपाल पक्षले ठहर गरेको छ।

‘आफै निर्वाचनको घोषणा गर्दै कामचलाउ भएका प्रधानमन्त्रीबाट उक्त किसिमले मन्त्रिपरिषद्‌मा हेरफेर गरिनु लोकतान्त्रिक राजनीतिक प्रणाली नै भत्काउने तर्फको निर्लज्ज पाइला हो’, पारित प्रस्तावमा भनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button