ओलीको ६ बुँदे प्रस्तावमा नेपाल पक्षले लिखित जवाफ दिने

जेठ २४, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ ।
नेपाल समूहका नेताहरुको आज भएको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय गरेको हो ।
स्थायी कमिटी सदस्य बेदुराम भुसालका अनुसार ओलीको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा नभएको निश्कर्ष निकाल्दै बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्ने निर्णय भएको छ ।
‘पत्रको जवाफ पत्रमा नै दिने तयारीमा छौं,’ उहाँले भन्नुभयो, ‘पत्रको कहिले पठाउने भन्ने सन्दर्भमा माधवकुमार नेपाल कमरेडले निर्णय लिनुहुन्छ ।’
वैशाख २५ मा नेता नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष ओलीलाई पत्र पठाएका थिए । पार्टी एकताको निम्ति इमान्दारीपूर्वक आएको प्रस्ताव हैन । उहाँ (ओली)ले राखेका बुँदा स्वीकार गर्न सकिदैँन । साँच्चै एकता चाहेको हो भने हामीले पहिला राखेका ६ बुँदा अनुसार प्रस्ताव आउनु पर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ,’ नेता भुसालले भन्नुभयो ।