एमाले प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई आज स्पष्टीकरण सोधिएको छ ।

एमालेको प्रदेश संसदीय दलको बैठकले गरेको निर्णय र ह्विप विपरीत मुख्यमन्त्रीका विपक्षमा मतदान गर्ने सात सदस्यलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधेको संसदीय दलका प्रमुख सचेतक दुर्गाकुमारी कामीले बताइन्।

विपक्षमा मतदान गर्नेमा नेपालु चौधरी, गेल्बुसिंह बोहरा, लीलाधर भट्ट, रतनबहादुर थापा, माया तामाङ, पठानसिंह बोहरा र बलदेव रेग्मी रहेको जनाइएको छ ।

माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारका मुख्यमन्त्री पक्षमा संसदीय दलको निर्णयानुसार एमालेका १७ जनाले भने मत दिएका थिए ।

एमाले स्थायी कमिटी बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । प्रदेश एमाले संसदीय दलमा पूर्वनेता माधवकुमार नेपाल पक्षको बहुमत छ ।

मुख्यमन्त्री भट्ट सत्तासाझेदार दल एमालेमा उत्पन्न आन्तरिक किचलोका बीच सदनबाट विश्वासको मत लिन सफल हुनुभएको छ । उहाँले प्रदेशसभाका ५२ सदस्यमध्ये बहुमत अर्थात् ३०मत पाएका छन् ।

एमालेका सात र राजपाका दुई गरी नौ जनाले विपक्षमा मत दिए । बाह्र सदस्य रहेको नेपाली कांग्रेस तटस्थ बसेको थियो । प्रदेशसभामा एमालेका सभामुखसहित २५ र माओवादी केन्द्रका १३ सदस्य छन् ।

सरकार गठनको तीन वर्ष पूरा हुँदा मुख्यमन्त्रीले प्रदेशसभामा आज पहिलो पटक विश्वासको मत लिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button