वागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम आउँदै

काठमाडौं । आज वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम आउँदैछ । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुने भएको हो ।
यसका लागि आज दिउँसो ३ बजे प्रदेश सभा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।
नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । त्यस्तै पुराना महत्त्वपूर्ण कार्यक्रम र योजनाहरुलाई निरन्तरता दिने बागमती प्रदेश सरकारको तयारी छ ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने प्रावधान छ । वाग्मती प्रदेशमा प्रतिपक्षी दलले भने नीति तथा कार्यक्रम र बजेट संसदबाट पारित गर्न नदिने रणनीति बनाएका छन् ।