निषेधाज्ञामा घरेलु हिंसा बढ्यो, जघन्य अपराध घट्यो

काठमाडौं- ६५ वर्षको इतिहासमा पहिलोपटक महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासत कक्ष अघिल्लो वर्ष खाली भयो। कारण बन्यो–कोरोना महामारी।

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण २०७६ चैतको दोस्रो साताबाट लकडाउन गरिएको थियो। लकडाउनको एक महिना पुगेपछि २०७७ वैशाख १५ गतेबाट भने परिसर काठमाडौंको हिरासत नै खाली भयो।

२०१२ सालमा प्रहरी ऐन जारी भएयता काठमाडौं परिसरको हिरासत कक्ष खाली भएको यो पहिलोपटक थियो। कोरोनाका कारण हिँड्डुलमा लगाइएको प्रतिबन्ध (लकडाउन)का कारण अपराधमा कमी भएपछि हिरासत कक्ष खाली हुन पुगेको थियो।

सरकारले एक वर्ष पहिलाकै जस्तो अहिले पनि अत्यावश्यक कामबिना हिँडडुलमा प्रतिबन्ध लगाएकोे छ। तर, अपराधको दर अघिल्लो वर्ष जस्तो छैन। अहिले हिरासत खाली नभएको नभएको महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी रमेश बस्नेत बताउँछन्। अघिल्लो लकडाउनमा रोकिएको अपराध योपटक भने नरोकिएको काठमाडौं परिसरको तथ्यांकले देखाउँछ।

सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा प्रतिबन्ध (निषेधाज्ञा) लगाएको पाँच साता नाघिसकेको छ। यो अवधिमा काठमाडौंमा मात्रै ३ सय भन्दा बढी अपराधका घटना भएको भन्दै उजुरी परेका छन्।

घरेलुु हिंसा बढ्यो, जघन्य अपराधमा कमी

निषेधाज्ञाको समयमा अन्य अपराधको तुलनामा सबैभन्दा बढी घरेलु हिंसाको अपराध बढेको पाइएको छ। काठमाडौं परिसरको तथ्यांक अनुसार निषेधाज्ञा सुरु भएयता अहिलेसम्म काठमाडौंमा ३६ वटा घरेलु हिंसाको उजुरी परेका छन्। घरेलु हिंसामा संलग्न भएको आरोपमा ५९ जना पक्राउ परिसकेका छन्।

‘निषेधाज्ञामा अधिकांश मान्छे घरमै बस्ने भएकाले पनि होला अन्य अपराधका घटनामा भन्दा घरेलु हिंसाका घटना बढेका छन्’ एसपी बस्नेतले भने। जसमा अधिकांश पीडित महिलाहरु रहेका छन्। निषेधाज्ञामा घरेलु हिंसाका घटना बढी हुन सक्ने भन्दै केही समय पहिले प्रहरी प्रधान कार्यालयले समेत यसबारे सचेतनामुलक प्रसार गर्दै घरेलु हिंसा भएमा प्रहरीमा खबर गर्न आग्रह गरेको थियो।

निषेधाज्ञामा मान्छेहरु बेरोजगार हुने, सबैजना घरमै रहँदा आपसी विवाद भई घुरेलु हिंसा हुनसक्ने भएकाले घरेलु हिंसाका घटना नलुकाई प्रहरीमा खबर गर्न समेत प्रहरी प्रधान कार्यालयको आग्रह थियो। जसबाट पनि अन्य बेलामा भन्दा निषेधाज्ञाको समयमा घरेलु हिंसाका घटना बढी हुने गरेको प्रष्ट हुन्छ।

घरेलु हिंसाका घटना बढेपनि जघन्य प्रकृतिका घटनामा भने धरै कमी आएको काठमाडौं प्रहरीको दाबी छ। कर्तव्य ज्यान, बलात्कार जस्ता जघन्य प्रकृतिका घटनामा अघिपछि भन्दा कम उजुरी आएको परिसरको तथ्यांक पनि देखाउँछ।

जघन्य अपराधका घटना पनि भएका छन्

बौद्धमा मंगलबार मान्छेको घुँडाभन्दा मुनिको खुट्टाको भाग भेटियो। हत्या भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ। यद्यपि, अहिलेसम्म उक्त घटना हत्या हो÷होइन भन्ने छुट्टिसकेको छैन।

गोकर्णेश्वर नगरपालिका–४ मा डेरा गरी बस्ने सोलुखुम्बु सोताङ गाउँपालिका–४ घर भएकी ५२ वर्षीया डोमा शेर्पाको आफ्नै श्रीमान छत्र शेर्पाको कुटाईबाट जेठ ८ गते मृत्यु भएको थियो।

मदिरा सेवन पश्चात भएकोे विवादमा कुटपिट हुँदा जेठ ८ गते नै कीर्तिपुर बस्ने ४० वर्षीय मानबहादुर घिसिङको मृत्यु भएको थियो।

मादक पदार्थ प्रयोग गरी भएको झगडामा कुटपिट हुँदा कीर्तिपुर नगरपालिका–६, छाप बस्ने ४० वर्षीय मानबहादुर घिसिङको मृत्यु भएको थियो। कीर्तिपुरै बस्ने मकवानपुरका २५ वर्षीय बगतबहादुर बलको कुटाईबाट उनको मृत्यु भएको थियो।

कर्तव्य ज्यानका घटना छिटपुट भए पनि अघिपछिको तुलनामा यो निकै कमी रहेको परिसर काठमाडौंले जनाएको छ।

यो अवधिमा १३ वटा बलात्कार र २ वटा बाल यौन दुराचारका उजुरी प्रहरीकहाँ आएका छन्। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ समेत गरिसकेको छ। निषेधाज्ञाको अवधिमा हातहतियार सम्बन्धी एउटा मुद्दा दर्ता भएको छ।

कालाबजारी र जुवा जुवातास बढ्यो

अघिपछिको तुलनामा जारी निषेधाज्ञाका कालोबजारीको आरोपमा पक्राउ पर्नेको संख्या बढी छ। अक्सिजनको मात्रा नाप गर्ने अक्सोमिटर, स्यानिटाइजर, अक्सिजन, रेमडिसिभिरलगायतको कालोबजारी गरेको आरोपमा काठमाडौं परिसरले एक दर्जन भन्दा बढी व्यक्तिलाई पक्राउ ग¥यो। पक्राउ परेकामध्ये १० जना जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपश्चात् कारागार चलान भइसकेको एसपी बस्नेतले बताए।

त्यस्तै, निषेधाज्ञाको मौकामा जुवातासका घटना समेत हुने गरेको पाइएको छ। यो अवधिमा काठमाडौंबाट मात्रै ७७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट ५५ लाख रुपैयाँ बरामद भएको छ।

अन्य अपराधमा आत्महत्याका घटना ३३ वटा भएका छन् भने बैंकिङ कसुर सम्बन्धी ७४ वटा उजुरी परेका छन्। ठगी, लेनदेन लगायतका उजुरी भने निषेधाज्ञामा प्रहरीले लिएको छैन। त्यस्तै चोरी, लागूऔषध, अभद्र व्यवहार लगायतका अपराध निधेषाज्ञामा फाट्टफुट्ट भएका एसपी बस्नेतले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button