दीपक मनाङेले दिए मन्त्री पदबाट ‘राजीनामा’

काठमाडौं– गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दीपक मनाङे)ले ‘राजीनामा’ दिएका छन्।
प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएपछि मनाङेले ‘नैतिकताका आधार’मा मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।
प्रदेश सभाबाट विश्वासको मत नपाएपछि मुख्यमन्त्री गुरुङ स्वत: पदमुक्त भएका हुन्। मुख्यमन्त्री पदमुक्त भएपछि पनि मनाङेले भने अलग्गै राजीनामा घोषणा गरेका छन्।
‘मुख्यमन्त्रीज्यूबाट प्रदेश सभामा राखिएको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भइ मुख्यमन्त्री पदमुक्त समेत भइसकेको सन्दर्भमा मन्त्रीको रुपमा काम गरिरहनु नैतकसम्मत नहुने हुँदा गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीबाट हिजो (बिहीबार)कै मितिबाट लागू हुने गरी राजीनामा दिएको छु,’ मनाङले आफ्नो वक्तव्यमा भनेका छन्।