खोलामा आएको बाढीले दर्जन बढी घरमा क्षति, बस्ती उच्च जोखिममा

बैतडीको पञ्चेश्वर गाउँपालिका–६ बस्खेत खहरे खोलामा आएको बाढीले रोडिदेवलस्थित अड्तोला र बस्खेत गाउँका दर्जनौं घरमा क्षति पुर्याएको छ।
बिहिवार राती परेको पानीसंगै बस्खेत खोलामा आएको बाढीले बस्तीमा ठुलो क्षति पुर्याएको स्थानीय अनिल भण्डारीले जानकारी दिनुभयो । बाढीले स्थानीयका भन्साघर, खेत, शौचालय र घरका आँगन बगाएको उहाँले बताउनुभयो । बस्ती माथिको सकडबाट डोजरले खनेको माटो खोलामा बगेर बस्तीमा आउँदा घरहरुमा क्षति भएको स्थानीयहरुले बताएका छन् ।
गए रातीको जस्तै फेरी बर्षा भए बाढी पहिरोले पुरै गाउँ सोत्तर बन्ने चिन्ता स्थानीयहरुमा छ । बाढीका कारण अड्तोला बस्खेत गाउँमा एक दर्न बढी घर उच्च जोखिममा रहेका बताइएको छ ।
बस्खेत गाउँमा मात्रै १५ घर बाढी पहिरोका उच्च जोखीममा रहेका स्थानिय भण्डारीले बताउनुभयो । बर्षाका कारण आएको बाढी पहिरोले मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बाढी पहिरोका कारण गाउँ नै त्रसित बनेको छ ।
वर्षा सुरु भएसंगै जिल्लामा विपद्का घटनाहरु बाहिर आउन थालेका छन्। जथाभावी डोजरको प्रयोग गरेर खनेका सडकहरुका कारण बाढी पहिरोको जोखिम बढेको बताइएको छ। धेरै स्थानीय तहहरुले विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी समेत गरेका छैनन्।