बृहत् नागरिक आन्दोलनका १८ जना अभियन्ता गिरफ्तार

काठमाडौं- बृहत नागरिक आन्दोलनले शुक्रबार १८ जना अभियन्ता पक्राउ परेको बताएको छ। उनीहरुलाई बालुवाटारमा गरिएको प्रदर्शनका क्रममा गिरफ्तार गरिएको हो।
‘चिकित्सा शिक्षा आयोगको स्वायत्तताविरुद्ध स्वेच्छाचारी डन्डा चलाउन लागिपरेको केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन गरेका बृहत् नागरिक आन्दोनका १८ जना अभियन्तालाई गिरफ्तार गरिएको छ,’ बृहत् नागरिक आन्दोलनबाट शुक्रबार सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘आज बालुवाटारमा ११ बजे प्रदर्शनको क्रममा उहाँहरुलाई गिरफ्तार गरी कमलपोखरी प्रहरी वृतमा लगिएको छ।’
खगेन्द्र संग्रौला, नारायण वाग्ले, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, घिमिरे युवराज, संगीत, भावना रावत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबुलाई पक्राउ गरिएको हो।
‘लोकतान्त्रिक प्रक्रिया र संविधानलाई नै घातक प्रहार गर्न उद्यत ओली सरकारले जनस्वास्थ्यको पक्षमा उत्रिएका अभियन्ताहरुलाई गिरफ्तार गर्दै आफ्नो सर्वसत्तावादी अनुहार फेरि प्रदर्शन गरेको छ। हामी उहाँहरुको तत्काल रिहाइ गरिएन भने कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुनेछौँ, विज्ञप्तिमा भनिएको छ, ‘हामी जनस्वास्थ्यको बजारीकरणलाई तीव्रता दिने सरकारको अलोकतान्त्रिक र अवैध कदमको भर्त्सना गर्दै जनस्वास्थ्यको पक्षमा देशभरि प्रतिरोध जारी राख्न पनि सबैलाई अपिल गर्दछौँ।’
सम्बन्धन प्रयोजनका लागि चिकित्सा शिक्षा आयोगको अध्यक्षको हैसियतले कामचलाउ प्रधानममन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोगको बैठक बोलाएपछि बृहत् नागरिक आन्दोलनले प्रदर्शन गरेको हो।
शुक्रबारको प्रदर्शनमा ‘गैरकानुनी सम्बन्धन प्रक्रिया तत्काल रोक’, ‘चिकित्सा शिक्षा आयोगमाथिको हस्तक्षेप बन्द गर’, ‘संविधानमा प्रतिगमन, राजनीतिमा प्रतिगमन, जनस्वास्थ्यमा प्रतिगमन, हमीलाई स्वीकार्य छैन’, ‘स्वास्थ्य शिक्षाको व्यापार बन्द गर’, ‘स्वास्थ्य सेवा, व्यापार होइन, सरकार सेवक हो, मालिक होइन’, ‘माफियाको मिसन, सिटामोलमा कमिसन’ लगायतको पर्चा सहित विरोध गरिएको थियो।