एमाले कर्णाली संसदीय दलको बैठक बस्दै

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार ढाल्ने खेल पुनः सुरु भएको छ । यसअघि नेकपा एमालेका सांसदहरुले फ्लोर क्रस गरेर शाहीको सरकार जोगिएको थियो । तर अहिले एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार ढाल्न खेल सुरु भएको हो ।

यसैबीच एमाले कर्णाली प्रदेश संसदीय दलको बैठक आजका लागि बोलाइएको छ । बैठकमा अदालतबाट पुनर्बहाली भएका चारजना सांसदहरुलाई पनि बोलाइएको छ ।

सभामुख राजबहादुर शाहीले प्रदेश सभामा सोमबार उनीहरु एमाले संसदीय दलमा फर्किएको जानकारी गराएका थिए । उनीहरु एमालेमा फर्किएर कँडेललाई सघाएमा मुख्यमन्त्री शाहीको पद धरापमा पर्ने निश्चित छ ।

गत वैशाख ३ गते माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एमालेको माधव नेपाल समूहका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले विश्वासको मत दिएका थिए । त्यही कारण उनीहरुलाई पार्टीले प्रदेशसभा सदस्यबाट निष्कासित गरेको थियो । तर पछि सर्वोच्च अदालतले उनीहरुलाई पुनर्बहाली गरिदिएको थियो ।

अब एमाले एकताबद्ध भएमा ४० जनाको प्रदेशसभामा एमालेसँग मात्रै २० जना सांसद हुने छन् । यसैगरी, माओवादीका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद रहेका छन् ।

राप्रपाले भने सरकारलाई समर्थन गरेको छैन । यो अवस्थामा कर्णालीमा राजनीतिक समीकरण बदलिन सक्ने प्रबल सम्भावना रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button