सिन्धुपाल्चोक बाढी अपडेट: नदी किनारका बस्ती खाली गराइँदै, कम्तीमा ५ जना बेपत्ता

काठमाडौं– अविरल वर्षाका कारण सिन्धुपाल्चाकको मेलम्ची (इन्द्रावती) नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराउन थालिएको छ।
मेलम्ची बजारसहित मेलम्ची (इन्द्रावती) नदी किनारका बाहुनेपाटी, सिपाघाटमा बस्ती खाली गराउन थालिएको हो।
मेलम्ची नगरपालिकाका मेयर डम्वर अर्यालका अनुसार बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। बाढी बढेर मेलम्ची पार्कमा रहेको मन्दिर समेत पुरिएको अर्यालले जानकारी दिए।
बाढीले नाकोटेको पुल बगाउनका साथै तिम्बु बजार, चनौटे बजार र इन्द्रावती नदी किनारका ८ वटा माछा फार्महरु बगाएको छ। माछा फार्ममा काम गर्ने केही कामदारहरु समेत बेपत्ता भएका छन्।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बाढीले बगाएर कम्तिमा ५ जना बेपत्ता भएको आशंका गरिएको छ। अध्यक्ष शेर्पाले बाढीले केही घर समेत बगाएको बताए।
‘मेलम्ची नदीको मुहानस्थल नाकुतेबाटै बाढी आएको छ। बाढीले हेलम्बु–२ किउल, ग्याल्थुम र मेलम्ची नदी आसपासका ट्राउट फर्म रिसोर्ट सहित केही घर बगाएको छ,’ उनले भने, ‘जताततै पुल सडक बगाएको छ, क्षतिबारे बुझ्दैछौं, यकिन विवरण आइसकेको छैन्।’
शर्पाका अनुसार शेर्पाका अनुसार पहिरोका कारण हेलम्बुमा खोला समेत थुनिएको छ। थुनिएको खोला जुनसुकै बेला पनि फुट्न सक्ने भएकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको उनले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रमा विद्युत अवरुद्ध भएको पनि उनले जानकारी दिए। धेरै ठाउँमा दूरसञ्चार (फोन) सेवा समेत अवरुद्ध भएकाले क्षतिको यकिन विवरण प्राप्त हुन नसकेको उनले बताए।