कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । १४औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

कोरोना महामारी र क्रियाशील सदस्यताको काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिका आजको बैठकले पारित गर्ने छ ।

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई हस्तान्तरण गर्ने कार्यतालिका रहेको छ ।

भदौ १६ को महाधिवेशनलाई लक्षित गरी वडा अधिवेशन साउन ६ गते गर्ने प्रस्ताव गरिएको छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ ।

प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ गते हुनेछ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २० गते गर्ने कार्यतालिकामा प्रस्ताव गरिएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाहरुको जिल्ला अधिवेशन जिल्लाहरुको अधिवेशन पनि साउन २० मै हुनेछ ।

एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २४ गते हुनेछ । संशोधित तालिकाअनुसार प्रदेश समितिहरूको अधिवेशन २०७८ भदौ १ र २ गते हुनेछ भने महाधिवेशनको मिति भदौ १६–१९ गतेसम्म प्रस्ताव गरिएको छ ।

कोरोना महामारी र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी बैठकमा महाधिवेशन गर्ने विकल्पका विषयमा पनि छलफल हुने बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button