मेलम्चीमा एमाले निकट अनेरास्ववियुले राहतका नाममा राजनीति गर्न खोजेको भन्दै स्थानीयद्वारा बिरोध

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा बाढी प्रभावितका लागि राहत वितरणका क्रममा विवाद हुँदा झडप भएको छ ।
एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो संगठनको ब्यानर राखेर राहत वितरण थालेपछि झडप भएको प्रहरीको भनाई छ ।
पीडितहरुमाथि राजनीति गर्न खोजेको भन्दै स्थानीयले ब्यानर हटाउन खोजेपछि झडप भएको हो । स्थानीयले अनेरास्ववियुको ब्यानर समेत च्यातिदिएका छन् ।
मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्टर फलबहादुर तामाङका अनुसार अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको हो ।
स्थानीयले अनेरास्ववियुको ब्यानर देखेपछि राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेको थियो । अनेरास्ववियूका कार्यकर्ता र स्थानीयबीच धकेला धकेल भएको छ ।
प्रहरीले अहिले परिस्थिति सामान्य बनेको जानकारी दिए । गत मंगलबार मेलम्ची नदीमा आएको बाढीले मेलम्ची बजारमा दर्जन बढी घर डुबानमा परेपछि प्रभावितहरु इन्द्रेश्वरी माविमा आश्रय लिएर बसेका छन् ।