दैनिक ३ उडान मार्फत विदेशबाट नेपालीको उद्धार गर्ने निर्णय

काठमाडौं । मन्त्रीपरिषद् बैठकले दैनिक तीन उडानमार्फत् विदेशमा रहेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको क्याबिनेट बैठकले चार्टर तथा उद्धार उडानलाई पुनः सूचारु गर्ने निर्णय गरेको हो।
दैनिक ३ चार्टर उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बताए।
विदेशबाट आएका यात्रुले पिसिआर रिर्पोट ल्याएपनि ७ दिन क्वारेन्टिन (होटलमा) बस्नुपर्ने निर्णय भएको छ। होटलमा बसेको खर्च यात्रुलेनै बेहोर्नुपर्नेछ।
कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ।
विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोके अनुसार हुनेछ। यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर फ्लाइट सुरु हुनेछ।