काठमाडौं महानगरपालिकाले १०० शय्याको ‘महानगर विशेष अस्पताल’ बनाउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले १०० शय्याको ‘महानगर विशेष अस्पताल’ बनाउने भएको छ।

महानगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै १०० बेड क्षमताको विशेष अस्पताल बनाउने घोषणा गरेको हो।

ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टिकृत सेवासहितको सुविधा सम्पन्न १०० बेडको सुविधासम्पन्न अस्पताल बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ। अस्पतालको सञ्चालन तथा व्यवस्थापन एक स्वायत्त संरचना वा सहकार्यबाट गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

‘महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्यसेवाको प्रत्याभूत गरिनेछ।

विशेषज्ञ चिकित्सकद्वारा महानगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइनेछ,’ काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले बिहीबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ।

नीति तथा कार्यक्रममा कोभिड–१९ बाट प्रभावित महानगरवासीका लागि आवश्यकताका आधारमा प्रतिकार्य, स्वास्थ्य उपचार र मानवीय सहायताका लागि सहयोग गरिने पनि उल्लेख छ।

‘कोभिड–१९ बाट सङ्क्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button