गण्डकी प्रदेशः मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिंदै

कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिंदैछन्।
आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।
संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लागेका हुन्।
विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा यसबारे जानकारी गराइसकेको प्रवक्ता खड्काले बताए।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्।
मुख्यमन्त्री पोखरेललाई उनको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदको समर्थन रहेको छ।
मुख्यमन्त्री पोखरेलले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र निर्वाचन गर्नुपर्छ । गण्डकी प्रदेशसभामा हाल ५९ जना सांसद छन्।