कञ्चनपुरमा ‘नमूना’ निषेधाज्ञा : घरबाट बाहिर निस्किन नपाइने, सवारी र उद्योग चलाउन पाइने

काठमाडौं उपत्यकाका ३ जिल्लामा बुधबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै निश्चित समयका लागि भन्दै धेरै जिल्लामा निषेधाज्ञा जारी गरिए पनि केही जिल्लामा अवस्था हेरेर त्यसलाई निरन्तरता पनि दिइँदै आएको छ ।
कोरोना संक्रमितको संख्याका आधारमा जोखिमपूर्ण प्रदेशमा रहेको सुदूरपश्चिमका विभिन्न जिल्लामा पनि निषेधाज्ञाको आदेश जारी भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि बिहीबार राति १२ बजेदेखि लागू हुने गरी जिल्लाभर ‘निषेधाज्ञा’ जारी गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भदौ १४ गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा अन्य जिल्लाको भन्दा केही फरक छ ।
काठमाडौं उपत्यकाकै कुरा गर्दा यहाँका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा जारी गरेका छन् ।
काठमाडौं उपत्यकामा जारी गरिएको निषेधामा अत्यावश्यक बाहेकका कामका लागि सर्वसाधारणलाई घर बाहिर निस्किन रोक लगाइएको छ । यस्तै, सुरक्षाकर्मी र अत्यावश्यक सेवाका बाहेक अन्य कुनै पनि सेवा तथा क्षेत्रका सवारीसाधन चल्न दिइएको छैन ।
कञ्चनपुरमा पनि सर्वसाधारणलाई अत्यावश्यक बाहेक अन्य कामका लागि घरबाहिर आउन रोक लगाइएको छ । तर, सवारीका साधन भने ‘जोर–विजोर नम्मर प्रणाली’का आधारमा चल्न दिइने भनिएको छ ।
प्रमुख जिल्ला अधिकारी खतिवडाले जारी गरेको आदेशको ४ नम्बर बुँदामा अत्यावश्यक बाहेकका (निजी, सार्वजनिक र भाडा)का सवारी साधन पनि जोर बिजोर नम्बरका आधारमा सञ्चालन गर्न दिइने भनिएको छ ।
उक्त बुँदामा भनिएको छ– सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनि तोकिएका अत्यावश्यकीय वस्तु तथा सेवा अन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अतिवश्यक सेवा बाहेकका अन्य सवारी सञ्चालन जोर विजोर प्रणालीअन्तर्गत गर्ने ।
१ नम्बर बुँदामै ‘अत्यावश्यक वस्तु तथा सेवा खरिदको बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्किने’ भनेर आदेश जारी गरेकोमा अन्य सवारी साधनको सञ्चालन जोर विजोर नम्बर प्रणालीका आधारमा गर्न दिने आदेश द्वििधापूर्ण छ ।
यस्तै, बुँदा नम्बर १३ को आदेशपनि यस्तै द्विविधापूर्ण छ । आदेशमा भनिएको छ– ‘अनुमति पाएका र अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय साँझ ७ बजे देखि बिहान ७ बजेसम्म सञ्चालन नगर्ने ।’
त्यसको अर्थ बिहान ७ः१ बजेदेखि साँझ ६ः५९ बजेसम्म अत्यावश्यक बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय सञ्चालन गर्न पाउने भन्ने सन्देश जान्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले कञ्चनपुरको निषेधाज्ञालाई ‘नमूना निषेधाज्ञा’ भनेका छन् । केहीले भने उक्त आदेश द्विविधापूर्ण भएको उल्लेख गर्दै तुरुन्त सच्याउन पनि माग गरेका छन् ।
