बागमती प्रदेशले पत्रकारलाई भ्रमणको व्यवस्था गर्ने : मन्त्री पाण्डे

काठमाण्डौ । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशव राज पाण्डेले बागमती प्रदेश सरकार सञ्चार माध्यमलाई साथसाथै लिएर हिँड्न चाहेको बताएका छन्।
शनिबार राष्ट्रिय टेलिभिजन प्रसारक संघको आयोजनामा बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री सँगको अन्तर्क्रियामा बोल्दै उनले बागमती प्रदेश सरकार मिडियाको साथमै हिँडिरहेको र आगामी दिनमा पनि मिडियाको साथमै हिँड्न चाहेको बताए। उनले देशको राजनीतिक परिवर्तनमा राजनीतिकर्मीहरुसँगै सञ्चार क्षेत्रको भूमिका पनि उत्तिकै रहेको भन्दै पत्रकारहरुको सो भूमिकालाई अवमूल्यन नगर्ने बताए।
मन्त्री पाण्डेले प्रदेश सरकारको तर्फबाट पुराना तथा नयाँ पत्रकारहरुलाई आवश्यकता अनुसारको पत्रकारिकताको तालिमको व्यवस्था गर्ने पनि बताए। प्रदेश सरकारले पत्रकारितामा आउन चाहाने युवापुस्तालाई प्रोत्साहित गर्ने उनले भनाइ थियो।
प्रदेश सरकारले ठूलो सञ्चारग्रामको कल्पना गरेको र त्यसको स्थापनाको निम्ति जग्गा प्राप्ति गर्न अघिल्लो वर्ष देखि नै लागिएको उनले जानकारी दिए।
पत्रकारहरुलाई भ्रमणको व्यवस्था गरिदिएर सो क्षेत्रको सम्बन्धमा पर्यटन प्रवर्द्धन गर्ने हिसाबले डकुमेन्ट्री बनाएर सो डकुमेन्ट्री किनिदिने व्यवस्था मिलाइने पनि उनको भनाइ छ।
त्यस्तै कोभिड-१९ महामारीसँग सम्बन्धित रहेर पत्रकारहरुलाई फेलोसिप प्रदान गरिने मन्त्री पाण्डेले बताए। पत्रकारहरुको हकमा संघीय सरकारले दिएको जति सुविधा प्रदेश सरकारले पनि दिनुपर्ने कुरामा आफु सहमत रहेको उनले बताए।