पत्रकार प्रीतम तामाङमाथि भएको आक्रमणप्रति प्रेस युनियनद्वारा भर्त्सना

निरोज तोलाङे, काठमाण्डौँ । बाढी प्रभावित समाचार संकलनका क्रममा हेलम्बु जाँदै गर्दा जन्मभूमि पोष्टका संचालक तथा सञ्चारकर्मी प्रीतमकुमार तामाङ गोलेमाथि मेलम्चीका केही अराजक व्यक्तिहरूले आक्रमण गरी सञ्चार सामाग्री तोडफोड गरेको घटनाप्रति नेपाल प्रेस युनियन सिन्धपाल्चोक शाखाले आपत्ति जनाएको छ ।
युनियनका अध्यक्ष दुर्गा आचार्यद्वारा जारी गरिएको विज्ञप्तिमा युनियनका जिल्ला सदस्य समेत रहेका पत्रकार तामाङमाथि कुटपिट र सञ्चार सामग्री तोडफोड गरेको घट्नाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
असार ७ गते हिजो काठमाडौबाट बाढी प्रभावित हेलम्बुको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकार तामाङलाई अन्दाजी १ः३० बजे मेलम्चीमा केही अराजक व्यक्तिहरुले आक्रमण गरी सञ्चार सामग्रीसमेत तोडफोड गरेका थिए ।
पत्रकारमाथि गरिएको आक्रमणले सूचना संकलन मै बन्देज लगाउने र हातपात गर्ने संस्कृतिको विकास गर्न खोज्नुलाई उचित भन्न नसकिने युनियनले बताएको छ ।
‘बाढीपहिरोग्रस्त क्षेत्रको सूचना संकलन गर्न रातदिन खटिरहेका कुनै पनि सञ्चारकर्मीमाथि यस प्रकारको व्यवहार हुनु सञ्चारजगत असुरक्षित हुनु हो । डर, त्रास र सेल्फ–सेन्सरसीपको मनस्थितिमा सञ्चारकर्मीले आफ्नो कर्तव्य निर्वाह गर्न सक्दैनन् । तसर्थ गोलेमाथिको घटनाको वास्तविकता सार्वजनिक गरेर दोषीमाथि कारबाही गर्न र सञ्चारसाधन तोडफोडको क्षतिपूर्ति दिलाउन प्रेस युनियन स्थानीय प्रशासन सँग जोडदार माग गर्दछ । साथै यस्ता घटना दोहोरिन नदिने परिस्थिति बनाई बाढीग्रस्त क्षेत्रमा खटिएका सञ्चारकर्मीको सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरिन्छ ।’