देशकै सबैभन्दा धेरै स‌ंक्रमित भएको प्रदेश २ मा कोरोनाबाट ५२ जनाको मृत्यु

प्रदेशअन्तर्गतका आठवटै जिल्ला कोरोनाको सङ्क्रमणको चपेटामा परेका छन् । सोमध्ये सबैभन्दा बढी पर्सा जिल्ला मारमा परेको देखिएको छ । सो जिल्लामा कोरोनाबाट २५ जनाको ज्यान गइसेकेको छ भने दोस्रो धनुषा जिल्लामा ९ जनाको मृत्यु भएको छ । त्यस्तै, बारामा ६, सप्तरीमा ४, रौतहटबाट ३, महोत्तरी र सिरहाबाट २/२ र सर्लाही जिल्लामा १ को कोरोना सङ्क्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार अपराह्नसम्म यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ हजार ६३ पुगेको छ । सोमध्ये तीन हजार ९८४ जना उपचार गराई घर फर्केका छन् भने तीन हजार ८९५ जनाको उपचार भइरहेको छ । प्रदेशमा स्वाबको नमूना सङ्कलन कार्य तीव्र रुपमा भइरहेको छ ।

अहिलेसम्म ८५ हजार ७६४ को स्वाबको नमूना सङ्कलन गरिएको छ । सङ्कलित स्वाबमध्ये ७२ हजार ७८९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ९१२ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

भारतबाट आउने वा सशङ्कित व्यक्तिका लागि यस प्रदेशमा निर्माण गरिएको २१७ वटा क्वारेन्टिनमा १३ हजार ७४८ वटा शय्याको व्यवस्था गरिएको छ । ती क्वारेन्टाइनमा एक हजार ३२७ जनालाई क्वारेन्टिन राखिएको छ भने होम क्वारेन्टिनमा दुई हजार १८८, आइसोलेशनमा ४६१ र होम आइसोलेशनमा ७६२ जना बसेका छन् ।

यस प्रदेशको आठवटै जिल्लाको सीमाना भारतसँग जोडिएको छ । भारतमा कोरोना सङ्क्रमण तीव्र रुपमा फैलिएको छ । सीमानामा आवतजावतमा रोक लगाइएको भएपनि लुकिछिपी भित्रिने व्यक्तिमध्ये कतिपय कोरोनाबाट सङ्क्रमित पाइएका छन् । त्यस्ता व्यक्तिहरु परिवारमा घुलमिल गरेर बसेपछि कोरोनाको सङ्क्रमण ह्वात्तै बढेको देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button