भोलिबाट सकिँदैछ निषेधाज्ञा, थप गर्ने वा नगर्नेबारे निर्णय गर्न बैठक बस्दै

काठमाडौं । काठमाडौं उपत्यकाममा भोलि बुधबार मध्यरातिबाट निषेधाज्ञा सकिँदैछ ।
कोरोना संक्रमित निरन्तर बढेरसँगै गत बुधबार मध्यरातिदेखि उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) निषेधाज्ञा लागू गरिएको थियो ।
जनघनत्व बढी भएको उपत्यकामा संक्रमित थपिँदै जाँदा जोखिम बढेको र मानिसको आवतजावतलाई नियन्त्रण गर्नुपर्ने चिकित्सक र विज्ञहरुले सुझाव दिइरहँदा यसलाई फेरि लम्ब्याउने कि के गर्ने भन्ने विषयमा आज निर्णय हुँदैछ ।
आज तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बसेर यसबारेमा निर्णय गर्ने तयारी गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले यस विषयमा निर्णय गर्न आज दिउँसो ४ बजे बैठक बस्ने तयारी भइरहेको जानकारी दिए।
त्यसअघि सीडीओ र उपत्यकाका मेयरहरुबीच छलफल हुने उनले जानकारी दिए ।
‘पहिलो आज दिउँसो १ बजे उपत्यकाका मेयरहरूसँग बैठक बस्दैछौं,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘त्यसपछि दिउँसो ३–४ बजेतिर हामी तीन जिल्लाका सीडीओसहितको संयुक्त बैठक बस्नेछौं।’
निषेधाज्ञा लम्ब्याउने विषय बैठकले निर्णय गर्ने उनले बताए । उनका अनुसार बैठकमा एक साता लामो निषेधको अवस्था र त्यसको प्रभावबारे समीक्षा गर्ने र सबैको राय अनुसार उपयुक्त निर्णय गर्ने बताए ।
यसैबीच उपत्यका नगरपालिका फोरमको सोमबार बसेको उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख सहितको बैठकले उपत्यकाका सबै नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुनेको सम्पर्कमा आएका व्यक्तिको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी पीसीआर परीक्षण निषेधाज्ञाभित्रै गर्ने निर्णय गरेको छ ।
फोरमले उपत्यकाका सबै नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यस अघिको बैठकले भदौ ९ गतेसम्म उपत्यकाका नगरपालिकाको सेवा बन्द गर्ने निर्णय गरेको थियो ।
फोरमले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अवधि पुनः थप गर्न आग्रह समेत गरेको छ ।
भारत बाहेकका अन्य मुलुकबाट नेपाल फर्कने नागरिकलाई तीनै तहको समन्वयमा क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावली अनुसार एकीकृत क्वारेन्टाइन सङ्घीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापन गर्नुपर्नेमा फोरमले जोड दिएको छ ।