ओली–प्रचण्ड बीचको छलफल सकियो, सचिबालय बैठक डाक्ने निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपाले सचिवालय बैठक बोलाएको छ । बैठक यही भदौ १३ गतेका लागि बोलाइएको हो ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले भदौ १३ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हो।
नेकपा विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो ।
सचिवालय बैठकपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरूको तयारी छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि दुई अध्यक्षबीच भएको दुई घण्टा लामो छलफलमा भदौ १३ गते ११ बजे पार्टी सचिवालयकोे बैठक बोलाउने सहमति भएको जानकारी दिए।
दुई अध्यक्षबीच सोमबार हुने भनिएको छलफल प्रधानमन्त्री ओली व्यस्त भएपछि स्थगित गरिएको थियो।