बाँके र ललितपुरमा एक-एक जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको गएराति निधन भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जनाकारी दिए ।
निमोनिया भएपछि उनी गत सोमबार अस्पताल भर्ना भएका थिए । हिजो उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । यो सहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
यसअघि नरैनापुर, बैजनाथ, कोहलपुर र नेपालगञ्जकै एक–एक जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।
बाँकेमा अहिलेसम्म ८ सय ४४ जना संक्रमित भएका छन् । ६ सय ६० जना निको भएर घर फर्केका छन् भने एक सय ७९ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा उपचाररत एक जना कोरोनाभाइरस संक्रमितको मृत्यू भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार गत साउन २३ गतेदेखि उपचाररत काठमाडौंका ५४ वर्षीया पुरुषको मंगलबार राति साढे ९ बजे मृत्यु भएको हो ।
मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।