एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

काठमाडौं- प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले आज स्थायी कमिटी र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ। संसद् अधिवेशन अन्त्य गरिएपछि विकसित राजनीतिक परिस्थितिका कारण एमालेले दुवै बैठक बोलाएको हो।
स्थायी कमिटी बैठक आज बिहान ११ बजे बस्दै छ। त्यो बैठक सकिएलगत्तै संसदीय दलको बैठक बस्नेछ। दुवै बैठक बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने जानकारी दिइएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आजको बैठकमा माधवकुमार नेपालपक्षलाई पनि बोलाइएको छ।
सोमबार साँझ बालकोटस्थित निवासमा आफूनिकट नेताहरुसँग छलफल गरेपछि एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक आह्वान गरेको एमालेका एक नेताले बताए।