‘सम्धी’ प्रकरणमा ईश्वर पोखरेलको जवाफ– मेरो सम्बन्धको दुरुपयोग भएको छैन

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले डा उपेन्द्र कोइरालाई राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गर्दा आफूसँगको सम्बन्धको दुरुपयोग नभएको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलका सम्धी समेत रहेका कोइरालालाई अर्थमन्त्री युवराज खतिवडाले मन्त्रीस्तरीय निर्णयबाट पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा नियुक्त गरेका थिए ।

उपप्रधानमन्त्री पोखरेलकै दवावमा बैंक सञ्चालक समितिको अध्यक्ष नै बनाउने गरी कोइरालाई सञ्चालकमा नियुक्त गरिएको विषयमा सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका थिए ।

समाचारको खण्डन गर्दै बुधबार रक्षामन्त्री पोखरेलले एक विज्ञप्ती जारी गरेका छन् । विज्ञप्तीमा पोखरेलले भनेका छन्– ‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शिता सहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् ।’

कोइराला नियुक्ति प्रक्रियामा आफ्नो कहिँ कतै पनि अवाञ्चित चासो र हस्तक्षेप नरहेको पोखरेलले जिकिर गरेका छन् ।

‘यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु,’ पोखरेलले विज्ञप्तीमा लेखेका छन्, ‘मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएकार गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।’
पोखरेलले समाचारको खण्डन गरेपनि उनकै पार्टी नेपाल कम्युनिस्ट पार्टीका केही नेता र कार्यकर्ता समेतले कोइरालाको नियुक्तिप्रति प्रश्न उठाएका छन् ।

कोइरालाले वाणिज्य बैंकको सञ्चालक सदस्य गरीसातौं पटक राजनीतिक नियुक्ति पाएका हुन् ।

सबैभन्दा पहिले कोइरालाले नेपाल खाद्य संस्थानको महाप्रबन्धकका रुपमा राजनीतिक नियुक्ति पाएका थिए । त्यसपछि क्याम्पस प्रमुखदेखि नेपाल आयल निगमको महाप्रबन्धक हुँदै उच्चमाध्यमिक शिक्षा परिषदको उपाध्यक्ष र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिसम्म भए ।

उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्ष हुँदा कोइरालाविरुद्ध उत्तर पुस्तिका छपाईमा अनियमितता गरेको आरोप समेत लागेको थियो ।

यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीले समेत आर्थिक अनियमितताको आरोप लगाएर आन्दोलन नै गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button