आज संसद अधिवेशनः अवरोध गर्ने प्रतिपक्षको तयारी

काठमाडौं । संघीय संसद्को अधिवेशन आजबाट सुरु हुँदैछ। आज ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम रहेको छ। बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने, उपसभामुखको निर्वाचन एवं एमसिसीलाई लक्षित गरेर अधिवेशन बोलाइएको हो। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने संकेत दिएपछि यी काम कसरी अघि बढ्छन् भन्ने विषय अन्योलमा पर्ने निश्चित छ ।

नेकपा एमालेले अघिल्लो अधिवेशन षड्यन्त्रमूलक ढंगले अन्त्य गरेको र अहिले पनि षड्यन्त्रमूलक तरिकाले नै बोलाइएको, सभामुख तटस्थ नभएको जस्ता विषय उठाएर बैठकमा अवरोध गर्ने संकेत गरेको हो। अघिल्लो अधिवेशन अन्त्य गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याई पार्टी विभाजन गराएर निर्वाचन आयोगले दल रोज्न दिएको मिति सकिएको भोलिपल्ट अधिवेशन बोलाउनु षड्यन्त्र भएको एमालेको आरोप छ। निर्वाचन आयोगले विभाजित दलका जनप्रतिनिधिलाई दल रोज्न मंगलबारसम्मको समय दिएको थियो।

नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटाप्रति पनि आक्रोशित छ। तत्कालीन वरिष्ठ नेता माधव नेपालसहित १४ जना सांसदहरुलाई कारबाही गरेर पत्र बुझाउँदा पनि सभामुखले सूचना जारी नगरेको एमालेले आरोप लगाएको छ। एमाले आक्रामक बनेका कारण सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाई संसद् बैठक सुरु गर्दछन । सभामुखको राजीनामा माग्दै सदन अवरुद्ध गर्ने तयारी एमालेको रहेको स्रोतले बताएको छ। नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भने संसदमा एमालेको भूमिका संसदीय दलको आज विहान ९ बजे बोलाइएको बैठकले तय गर्ने बताए।

संसद्को पहिलो बैठकमा एउटा अध्यादेश टेबुल गर्ने र ११ वटा अध्यादेश स्वीकृत गर्ने कार्यसूची राखिएको छ। बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएमा आजै प्रतिस्थापन विधेयक दर्ता गर्ने सरकारले तयारी गरेको छ। तर आज ४ बजे बोलाइएको बैठक अवरुद्ध भएर कार्यसूचीमा प्रवेश गर्न नसके आजै प्रतिस्थापन विधेयक दर्ता हुन सक्दैन। निरन्तर संसद् अवरोध भई कार्यसूचीमा प्रवेश हुन नसके अधिवेशन अन्त्य गरी अर्को अध्यादेश जारी गर्नुपर्ने अवस्था आउँछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button