सामाजिक संजाल Instagram प्रयोग गरी ठगी गर्ने गिरोह पक्राउ गरी मुद्दा दायर

जिल्ला चितवन राप्ती न.पा.वडा नं.०८ खुरखुरे स्थित मेसन मनी ट्रान्सफरबाट प्रेम बहादुर राना नाम गरेको व्यक्तिले शंकास्पद तबरले पटक पटक ठुलो परीमाणमा रकम निकालेको सुराकी प्राप्त भएकोमा मिति २०७७/०४/२० गते उक्त मनी ट्रान्सफरमा निज आएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यलय खैरहनीबाट प्रहरी टोली खटी गई निजलाई नियन्त्रणमा लिई निजको शरीर खानतलासी गर्दा निजको साथमा राज कुमार थापा मगर नामको ना.प्र.प.को प्रतिलिपि, सक्कलै सवारी चालक अनुमती पत्र, निजैको फोटो रहेको प्रेम बहादुर रानाको नामको नक्कली सवारी चालक अनुमती पत्रको प्रतिलिपि समेतका कागजातहरु फेला परेकोले बरामद गरी निज राज कुमार थापा मगरलाई पक्राउ गरिएको ।
राज कुमार थापा समेतले सामाजिक सञ्जाल ईन्स्टाग्राम र ह्वाटसपमाको प्रयोग गरी उपहार पठाई दिने भनि रु. १,६१,९५९/- र सन्जना पाठकको नाममा रु.९०,२८१/- र रु.१,०००/- गरी जम्मा नगद रु.२,५३,२४०/- ठगी गरेको भनि मिति २०७७/०४/२१ गतेका दिन जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२० शारदानगर बस्ने आरती रानाले किटानी जाहेरी दरखास्त पेस गरेको ।
राज कुमार थापा समेतले सामाजिक सञ्जाल फेसबुक मार्फत जिल्ला मोरङ लेटाङ न.पा.९ बस्ने बिष्णु कुमारी राईलाई उपहार पठाई दिने भनि रु.१,८५,१९०/- र सन्जना पाठकको नाममा रु.८९,४०५/- र रु.१,०५०/- गरी जम्मा नगद रु.२,७५,६४५/- ठगी गरेको भनि मिति २०७७/०४/२८ गतेका दिन निज बिष्णु कुमारी राईको भतिजा नाताका जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.११ बस्ने केशव पाल्पाली कुमालले किटानी जाहेरी दरखास्त पेस गरेको ।
पक्राउ परेका राज कुमार थापा मगरले आफ्नो फोटो राखी बनाएको प्रेम बहादुर रानाको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमती पत्रको प्रयोग गरी र हाल सम्म नामथर, वतन नखुलेको महिलाले सन्जना पाठकको नामको यातायात व्यवस्था कार्यालय गण्डकीको नक्कली सवारी चालक अनुमती पत्रको प्रयोग गरी रकम निकालेको र उक्त रकम सत्कार लुईटेल, राम कुमार तामाङ, निशा कुसुम भट्टराई, लोक प्रसाद भुर्तेल, मञ्जु के.सी.र तोज बहादुर के.सी.को बिभिन्न बैंक खातामा जम्मा गरेको देखिएको।
पक्राउ परेका राज कुमार थापा मगरको सहोदर भाई जिल्ला तनहुँ भिमाद न.पा.वडा नं.५ राङरुङ घर भएका हाल भारतको दिल्लीमा बस्ने बर्ष ३७ को सुरज भन्ने सोमराज थापा मगरले उल्लेखित ब्यक्तिहरुको सहयोगमा जाहेरवालाहरुबाट रु. ५,२८,८८५।- र अन्य बिभिन्न ब्यक्तिहरुबाट रु.६,५७,९७५/- ठगी गरेको अनुसन्धानबाट खुल्न आएको ।
निज राज कुमार थापाको साथमा निजको फोटो राखी बनाएको प्रेम बहादुर रानाको नामको नक्कली सवारी चालक अनुमती पत्र बरामद भएकोले निजको हकमा लिखत सम्बन्धि कसुरमा समेत मुद्दा दर्ता गरी अनुसन्धान गरिएको ।
मुद्दाको अनुसन्धान कार्य सम्पन्न गरी मिति २०७७/०५/११ गते ठगी मुद्दा र लिखत सम्बन्धि कसुर समेत मुद्दा अनुसन्धान प्रतिवेदन सहित जिल्ला सरकारी वकील मार्फत सम्मानित जिल्ला अदालत चितवन पेस गरिएको ।
Modus Operandi
१. ईन्स्ट्राग्राममा बिदेशीको फोटो राखी नक्कली खाता खोलि बिभिन्न मनिसहरु (बिषेश गरी महिला) लाई साथि बनाई ईटली, अमेरिका, अष्ट्रेलिया, सिंगापुर,फ्रान्स जस्ता बिकसित देशबाट बोलेको भनि कुराकानी गर्ने ।
२. कुराकानीको क्रममा घनिष्टता बढाई उपहार ( I Phone, ब्राण्डेड ब्यागहरु,ब्रासलेट गहनाहरु ईत्यादी) पठाई दिन्छु भन्ने र पाउने व्यक्तिको ठेगानामा सामान कुरियर गरेको बिल र सामानहरुको समेत फोटो पठाई विश्वाेस दिलाउने ।
३. सामान पठाउन कुरियरको फि र कर वापतको ५०० देखि ८०० डलर लाग्ने भनि मनि ट्रान्सफर मार्फत पैसा पठाउन लगाउने ।
४. पुन: सामान भारतको एयरपोर्टमा आई पुगेको र कस्टम, वेयरहाउस फि, लेट फि आदि नतिरेको कारण सामान रोकिएको भनि कुरियर कम्पनीको नामको ईमेलबाट संपर्क गरी १५०० लाग्ने भनि मनि ट्रान्सफर मार्फत पैसा पठाउन लगाउने ।
पक्राउ मानिसहरु –
१. जिल्ला तनहुँ भिमाद न.पा.वडा नं.५ राङरुङ बस्ने बर्ष ४० को राज कुमार थापा मगर ।
२. जिल्ला चितवन खैरहनी न.पा.वडा नं.१२ सिसाहनी बस्ने बर्ष २८ को शिवराज पाठक ।
३. जिल्ला धादिङ धुनीवेशी न.पा.वडा नं.२ घर भई हाल जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.वडा नं.४ बस्ने बर्ष ३० को सत्कार लुईटेल ।
फरार मानिसहरु –
१. जिल्ला तनहुँ भिमाद न.पा.वडा नं.५ राङरुङ बस्ने छोरा अं.बर्ष ३७ को सुरज भन्ने सोमराज थापा मगर ।
२. जिल्ला धादिङ धुनीवेशी न.पा.वडा नं.२ घर भई हाल जिल्ला काठमान्डौ म.न.पा.वडा नं.१५ चागल बस्ने बर्ष ३५ को राम कुमार तामाङ ।
३. जिल्ला स्याङ्जा चापाकोट न.पा.वडा नं.६ घर भई हाल जिल्ला पाल्पा रामपुर न.पा.वडा नं.५ बस्ने बर्ष ३० की निशा कुसुम भट्टराई ।
४. जिल्ला नवलपरासी देवचुली न.पा.वडा नं.१२ बस्ने बर्ष ३६ को लोक प्रसाद भुर्तेल ।
५. जिल्ला अर्घाखाँची सन्धिखर्क न.पा.वडा नं.९ बस्ने बर्ष ४१ को तोज बहादुर के.सी. ।
६. जिल्ला अर्घाखाँची सन्धिखर्क न.पा.वडा नं.९ बस्ने बर्ष ३५ की मञ्जु के.सी.।
Source: https://www.facebook.com/NepalPolicePHQ