दसैंको साइत निर्धारण, स्वास्थ्य सावधानी अपनाउन आग्रह

काठमाडौं । यस पटकको दशैंका लागि नवरात्र अवधिभर गरिने विभिन्न अनुष्ठानहरुको शुभ साइत निर्धारण भएका छन । नेपाल पञ्चांग निर्णायक समितिले साइत निर्धारण गरी सार्वजनिक गरेको हो। जसअनुसार असोज २९ गते शुक्रबार यस बर्षको विजया दशमी परेको छ ।

विजया दशमीका दिन शुभ साइत रोजेर टीका लगाउनेहरुका लागि बिहान १० बजेर २ मिनेट जाँदाको साइत शुभ रहेको समितिले जनाएको छ । समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्नेछ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

असोज २१ गते बिहीबार घटस्थापना परेको छ । त्यस दिन बिहान ११ः४६ बजे घटस्थापनाको शुभ साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ बजे ४६ मिनेट जानुअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने अधिकारीले बताए ।

त्यस्तै असोज २२ गते शुक्रबार झन्डा फेर्ने शुभ साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झन्डा फेर्नुपर्ने अध्यक्ष अधिकारीले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मंगलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा. अधिकारीले बताए ।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यका तर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी परेको छ । त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।

असोज २८ गते बिहीबार महानवमी पर्व परेको छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ ।

विजया दशमीका दिन बिहान ७ः१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने शुभ साइत रहेको छ । तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले जुराएको छ । खड्गयात्रा पनि यसै दिन गरिनेछ । कात्तिक २ गते आश्विन शुक्ल पूर्णिमा परेको छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ ।

यस बर्षको दशैंमा कोरोना संक्रमणको जोखिमबाट बच्न पूर्ण रुपमा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने व्यक्तिको कोरोना (एन्टिजेन) परीक्षण अनिवार्य रुपमा गर्न आग्रह गरेको छ ।

सबै प्रदेशका सामाजिक विकास एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, देशभरका सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिका, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयहरुलाई पत्र लेख्दै मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सीमा नाका वा समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था गर्न आग्रह गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button