स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिकाप्रति आफू प्रतिवद्ध : प्रधानन्यायाधीश राणा

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘अनावश्यक’ टिकाटिप्पणीले न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्ने बताएका छन्।
शुक्रबार विजया दशमी, दीपावली, छठ लगायत चाड पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले आफू निष्पक्ष तथा सक्षम न्यायपालिकाप्रति प्रतिवद्ध रहेको पनि बताएका छन्।
‘नेपालको संविधानले आत्मसात गरेको शक्ति पृथकीकरण र सन्तुलनको मान्यता एवम् स्वतन्त्र, निष्पक्ष तथा सक्षम न्यायपालिका र विधिको शासनसम्बन्धी अवधारणाप्रति निष्ठापूर्वकको प्रतिबद्धताका साथ संविधानले दिएको भूमिका र जिम्मेवारीप्रतिको दृढता समेत व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा राणाले भनेका छन्।
प्रधानन्यायाधीश राणाले अनावश्यक रुपमा हुने आशंका र टिकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्ने भन्दै त्यसप्रति संवेदनशील रहन समेत आग्रह गरेका छन्।
‘अनावश्यक रूपमा हुने आशंका वा टिकाटिप्पणीबाट न्यायपालिकाप्रतिको आस्था र विश्वासमा प्रतिकूल प्रभाव पर्न सक्नेतर्फ संवेदनशील रहन हार्दिकतापूर्वक अनुरोध गर्दै आसन्न चाडपर्वहरूले न्यायपालिकाको श्रीवृद्धिका लागि हामी सबैलाई आ–आफ्नो ठाउँबाट योगदान गर्नसक्ने थप ऊर्जा, हौसला तथा प्रेरणा प्रदान गर्नेछन् भन्ने कामनासमेत गर्दछु,’ प्रधानन्यायाधीश राणाले आफ्नो शुभकामना सन्देशमा भनेका छन्।
प्रधानन्यायाधीश राणाले दशैं, तिहार, छठजस्ता पर्वले सदिऔंदेखि नेपाली समाजमा एकता, सहिष्णुता र आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन्।
प्रधानन्यायाधीश राणाले कोभिड-१९ को प्रभाव केही कम भएपनि संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरी चाडपर्व मनाउन पनि आग्रह गरेका छन्।