बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत नलिने

काठमाडौँ – बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत नलिने भएकी छन् ।
असोज २५ गते बोलाइएको बैठकमा प्रस्ताव पेश भए पनि आज उनले विश्वासको मत नलिने बागमती प्रदेशसभाका नेकपा एमालेका सांसद अरुण नेपालले जानकारी दिए ।
‘आज उहाँले विश्वासको मत लिनुहुन्न। आज आफ्नो कुरा भन्नुहुन्छ। सरकारले गरेका कामका बारेमा संसदलाई जानकारी दिनुहुन्छ,’ उनले भने, ‘त्यसपछि दलका नेताहरु र सांसदले आफ्नो धारणा राख्छन्। विश्वासको मत माग्नुहुन्छ।’
सांसद नेपालले आफूहरुले विश्वासको मत लिने विषयलाई लम्ब्याउन नखोजेका भन्दै पार्टीको ६ र ९ गते देशभर एकै साथ हुने वडा र इलाका अधिवेशनका कारणले केही ढिलाइ हुन गएको बताए ।
उनले संविधान र कानुन अनुसार सरकारले विश्वासको मत लिने र त्यसमा कुनै अन्यथा नहुने बताए । नेकपा एमाले बागमती प्रदेश संसदीय दलले आजका लागि बोलाइएको प्रदेशसभा बैठक कात्तिक ११ गतेसम्म सार्नका लागि अनुरोध गर्दै पत्राचारसमेत गरेको थियो । तर, संसद सचिवालयले बैठक नसारेपछि आज बैठक बस्न लागेको हो।
बागमती प्रदेश सभामा एक सय नौ सदस्य छन्। मुख्यमन्त्री शाक्यले विश्वासको मत जुटाउन ५५ जना सांसद आवश्यक पर्छ। हाल सत्तारूढ नेकपा एमालेसँग ४३ जना सांसदमात्र छन्।
उनलाई १२ जना अन्य दलका सांसदले समर्थन गरे मात्रै विश्वास पाउने सम्भावना रहन्छ। तीन मत रहेको विवेकशील साझा पार्टीले पनि शाक्यलाई विश्वासको मत नदिने यसअघि नै घोषणा गरेको थियो।